पृष्ठभुमी: दोलखा जिल्लामा कपिल गोत्रको पुवार खडकाहरु कहिले र कहाबाट गए वा आए भन्ने बिषयमा अध्ययन अनुसन्धान नै छ । अहिले सम्मको जानकारी अनुसार दुई समुहमा आएको देखिन्छ । पहिलोमा शहदेव खडका (म भन्दा१३ पुस्ता अगाडि) आएर बुलुङ्ग घडेरीमा (हाल लादुक घडेरी) बसेको र बुलुङ्गको जुम्लिता भन्ने स्थानमा बसाइ सुरु गरे । जुम्लाबाट आएर बसेको हुनाले त्यस स्थानलाइ “जुम्लिता” भन्ने गरेको स्थानियहरुको भनाइ छ तर हाल जुम्ला जिल्लामा सोधपुछ गर्दा कपिल गोत्रको पुवार खडकाको बसोबास छैन भन्ने छ । शहदेव खडका एक जुम्ला आएको र बस्न उचित नलागेर परीवार सहित आएको पनि हुन सक्छ तर भौगोलिक कठिनाइले गर्दा यो बिषय हामिलाइ पत्याउन गाह्रो छ । शहदेव खडकाको दुई छोरा हरी खडका र हिमु खडका हो । जेठो छोरा हरि खडकाको सन्तान हालको मेलुङ्ग गाउपालिकाको पवटी भङ्गेरी बसेको पाइन्छ । पवटीबाट नै दोलखा जिल्लाको अन्य गाउमा पनि बसाइसराइ गरेको देखिन्छ । शहदेव खडकाको कान्छा छोरा हिमु खडकाको सन्तती गौरिशंकर गाउपालिकाको झ्याकु किसपान, पाल्दुङ्ग पोखरी, सुरीको घामतारा, तिनेखु , याम्बा, इबिथान, जुगुको बोजम्बु, राजपु, जिरी सिमिगाउको रिकु, बिगु गाउपालिकाको गोंगर, ओराङ्ग, बुलुङ्ग, लादुक, चिलंखा, लोटिङ्ग, खोपाचागु, बिगु कालिञ्चोक गाउपालिका मलेपु, बैतेश्वर गाउपालिकाको क्षेत्रपा (करबिर खडाको सन्तती) तामाकोशी गाउपालिकाको मालु (नरदल खडकाको सन्तती) सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको ओख्रेनी ( करबिर खडकाको सन्तती) कर्थलीमा (धनराज खडकाको सन्तती) भोटेकोशी गाउपालिका फुल्पिङ्गकट्टी नारायणस्थान, हिन्दी (सनमान खडकाको सन्तती) मा बसोबास गरेको पाइन्छ । दोस्रो समूह मेलुङ्ग गाउपालिकाको मेलुङ्ग “खडकाथोक” मा जसराम खडका गोरखाबाट आएर बसेको भन्ने “खडकाथोक” को दलबहादुर खडका (ताम्रपत्र छ भन्ने सुनिएको) र पूर्व जिल्ला पंचायत कार्यबाहक सभापती दोलखाको आदरणिय दाजु श्री टीकाबहादुर खडका (जिरी) को भनाइ रहेको छ । जसराम खडकाको दुई छोरामा पहिलो कालुमान खडकाको सन्तान दोलखाको मेलुङ्ग र मालुको केही स्थान, रामेछाप जिल्लाको नामडी, बेताली, बञ्चरे र बञ्चरेबाट दोलखा जिल्लाको कलङ्ग जिरी, र जुगुमा दोश्रो कल्याण खडका मेलुङ्ग “खडकाथोक” बाट भोजपुर जिल्लाको दावामा बसेको भन्ने थाह भएको छ । आदरणिय श्री चन्द्र बहादुर खडकाज्यूले लेखिबक्सेको चिलंखे खडका एक छोटो चिनारी पुस्तकमा भोजपुर दावाको स्व. दुर्गाबहादुर खडका संग भएको वार्ताबाट प्राप्त जानकारी अनुसार भोजपुर जिल्ला दावागाउका पुवार खडकाहरुको पुर्खा लमजुङ्ग, गोरखा, ओखलढुङ्गाको कुवापानी हुँदै भोजपुरको दावामा बसोबास गर्न पुगेका हुन भन्ने उल्लेख छ । आदरणिय श्री रामबहादुर खडका पूर्व निर्देशक शिक्षा तथा मानव श्रोत बिकास केन्द्र (CEHRD) सानोठिमी, मेलुङ्ग-१ पवटी भङ्गेरी दोलखा हाल ललितपुर-३ सानेपाको अनुसार पवटी भङ्गेरीबाट ओखलढुङ्गा र भोजपुर पनि गएको भन्ने भनाइ छ । त्यसैले यो सम्बन्धित क्षेत्रमा गएर अनुसन्धानको बिषय रहेको छ तर जो जहाबाट कहिले आए कहिले गए तिथि मिती थाह नभएपनी त्यस समयमा आफुलाइ आवस्यक पर्ने गुरु पुरोहित, र बिभिन्न पेशा अपनाउने ब्यक्तिहरु पनि साथमा लिएर आएको भन्ने पुर्खाहरुबाट सुनिदै आएको हो । रामेछाप नामडीको आदरणिय कुलायन गुरु श्री दीपक खडकाको अनुसार चिलंखा, मालु , नामाडी, बञ्चरे, चुचुरे,बाम्ती,कुबुकास्थली, दुदिले, शहरे, च्यामा, सोलुखुम्बु, ओखलढुङ्गाको केही भागको र जुम्लाको पुर्खा एक हो र उहिबाट छुट्टिएको हो ।
“चिलंखे खडका एक छोटो चिनारी”को लेखक आदरणिय श्री चन्द्रबहादुर खडकाज्यूबाट लेखिएको चिलंखे खडका अचल सन्तती समाज काठमान्डौबाट २०६३ दोश्रो संस्करणमा प्रकाशन गरिएको पुस्तकमा उल्लेख भए अनुसार दोलखा बुलुङ्ग सुब्बासिङ्ग निवासी अचल खडकाको बि स १८७३ मा ४३ वर्षको उमेरमा परलोक भएपछी उहाको काइला छोरा दृपसिंह खडकाले बि स १८७४ मा तिथि श्राद्धमा तर्पण दिन पित्री-बहि तयार गर्दा वंशावली उतार भनेर लेखेको पीत्री बहि अनुसार १ भाइ डोटी रह्या, १ भाइ पिउठाना रह्या, १ भाइ पाल्पा रह्या, १ भाइ लम्जु रह्या, १ भाइ प्रवत रह्या भन्ने उल्लेख छ । यसरी पुवारहरु मध्यप्रदेश मालवा उज्जैन धारानगरबाट कुमाउ गढवाल हुँदै डोटी प्रबेश गरि डोटीबाट अन्य स्थानमा बसाइसराइ गरेको भन्ने बुझिन्छ ।
कपिल गोत्रका पुवार खडकाहरु अत्यधिक मात्रामा बसोबास गर्ने जिल्लाहरुमा डोटी, म्याग्दी, बागलुङ्ग, पर्वत, पाल्पा, लमजुङ्ग, भक्तपुर, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुङ्गा, उदयपुर, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम जिल्लामा लगायत बसाइ सराइको क्रमममा तराइको धेरै जिल्लामा पनि धेरै मात्रामा बसेका छन । अंग्रेजसङ्ग युद्ध हुदा नालापानीको वीर योद्धा सुबेदार दयाराम खडकाको सन्तती प्युठानको रम्दीमा बसेका छन ।
कपिल गोत्र भएको पुवारहरुमा पुवार खडका, पुवार थापा, पुवार बिष्ट, पुवार दानी, पुवार बुढाथोकी, र पुवार बोहरा छन । एकै गोत्र भएको कारणले एक आपसमा यिनिहरु बिच बैबाहिक सम्बन्ध हुदैन ।
पुवार खडकामा पनि भारद्वाज गोत्र र कश्यप गोत्रको पनि विभिन्न जिल्लाहरुमा पाइन्छ जस्तै बझाङ्ग , दाङ्ग ।
यसरी बसाइ सराइ गरेर विभिन्न स्थानमा बस्दाखेरी विभिन्न कामगर्नको लागि पर्ने कठिनाको समाधान गर्न तत्कालिन समयमा चिलंखे खडका अचल सन्ततीको पूर्खा वा बंशजहरुले आ आफ्नो ब्यक्तिगत खर्चमा केही सामाजिक काम पनि गरेका छन ।
१) सुबेदार :- नैनसिंह खडका– याम्बा सुरी दोलखा । बुलुङ्ग सुब्बासिंग निवासी अचल खडकाको ६ भाइ छोरामा जेठा सुबेदार नैनसिंह खडका (जन्म बि स १८५१) पढ्न लेख्न बोल्न मुद्धामामिला छिन्न, नेतृत्व लिन सक्ने चलाख इमान्दर ब्यक्ती भएकोले सुरीको स्थानिय बासिन्दाहरुले सुरीमा लगेर राख्ने माग पिता अचल खडका संग गरेपछी पिताले छोराको लागि आवस्यक पर्ने जग्गा “याम्बा” सुरीमा बि स १८७१ खरिद गरि दिए भने बि.स. १८७६ मा नैनसिंह खडका स्वयंले घर निर्माण गरे । नैनसिंह खडका घोडचढिमा सिपालु तथा महत्वकांक्षा राख्ने क्षमतावान ब्यक्ती भएकोले र तत्कालिन समयमा भोट र तिब्बत बिच समय समयमा खटपट भै रहने, अंग्रेज सङ्ग बि स १८७३ मा सुगौली सन्धी हुनु भन्दा अगाडि युद्ध भै रहेको थियो । त्यसकारण पनि वहाँ सेनामा आवद्ध हुनु भएको थियो । तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले बि स १९०६ मा गुठी राख्न दिएको लालमोहर पत्रमा सुबेदार नैनसिंह खडका भनेर उल्लेख गरेको हुदा उहाँ सेनामा आवद्ध भएको प्रमाणित हुन्छ । सेनामा आवद्ध भएर विभिन्न स्थानमा जादाको अनुभव र दोलखाको जन्म स्थान बुलुङ्गमा सुरीबाट आवत जावत मात्र हैन कि लादुक, चिलंखा, बिगु, खोपाचागु, बाबरे राजधानी काठमान्डौ र भोट (तिब्बत) मा नुन लिन जादा सजिलोको लागी लादुक र सुरी बिचपर्ने भोर्ले भन्ने स्थानमा आफ्नो ब्यक्तिगत खर्चमा बि स १९०६ मा तत्कालिन भोटेकोशी हाल तामाकोशी नदिमा (तामाकोशी नदिको मुहान श्रोत कालिञ्चोक हो) सुबेदार नैनसिंह खडकाले फलामेसाघु निर्माण गर्नुको साथै घोडेटो बाटो खानेपानीको ढुङ्गेधारा चौतरा निर्माण वरपिपल रोप्ने काम गर्नु भएको थियो । फलामे साघुमा वार्षिक रुपमा तेल लगाउन र समय समयमा मर्मत सुधार गर्न गुठिको जग्गा समेत ब्यबस्था गर्नु भएको थियो । भोर्लेमा फलामेसाघु निर्माण गरेपछी सुबेदार नैन सिंह खडकाले बि स १९०६ मा लादुक खोलाखर्कमा सावलादेवी भगवतीको स्थापना गर्नु भएको थियो । हाल स्थानियहरु सबै मिलेर मन्दिरको मर्मत सुधार, ब्यबस्थापन र संरक्षण गरिरहेकाछन ।
मानिस वा यात्रुहरुको बढ्दो चाप र फलामको लट्ठा वा साङ्गलोमा खिया लागेर फलामे साघुको लट्ठा चुडिएपछी सु. नैनसिह खडका र श्रीमती चन्द्र कुमारी खडकाको सुपुत्र द्वय जमदार भक्तबिर खडका “याम्बा” र रबिध्वज खडका ” मुलावारी” सुरीले फलाम थपेर लट्ठा वा साङ्गलो ठूलो बनाइ पुन: उक्त स्थानमा फलामे साघु निर्माण गरेको थियो । जमदार भक्तबिर खडका पनि तत्कालिन समयमा पढाइलेखाइ राम्रो हुनुको साथै नेतृत्व क्षमता पनि राम्रो भएकोले सेनामा आबद्ध भै जमदार पदमा पुग्नु भएको थियो । स्थानियको छोराछोरीलाइ घरमा शिक्षक राखेर पढाउनु पर्छ भनेर हौसला दिने घोडेटो बाटो निर्माण तथा मर्मत सुधार गर्ने स्थानिय स्तरको मुद्धा मामिला गाउमा नै फैसला वा छिन्न सक्ने सामाजिक भावना हुनुको साथै घोडचडीमा साहै रुचाउने ब्यक्ती हुनुहुन्थ्यो ।
तत्कालिन बि स २०३४ देखि २०३८ सम्म सुरी गाउ पञ्चायतको प्रधानपञ्च हुनुभएको श्री गोबिन्द बहादुर खडकाको भनाइ अनुसार सुरी गाउपंचायतको प्रधानपंच श्री शिबबहादुर खडका हुनु भएको समयमा बि स २०२९/ २०३० को आर्थिक वर्षमा नेपाल सरकारबाट भोर्लेमा झोलुङ्गेपुल निर्माण भयो र बि स २०३१ सालमा सुरीमा बसोबास गर्ने सुबेदार नैनसिंह खडकाको सन्ततीहरुले भोर्लेबाट उक्त पुलको लट्ठा गुरुम्फी भन्ने स्थानमा लगेर सुरीखोलामा ब्यक्तिगत खर्चमा फलामे साघु निर्माण गरेको थियो । त्यहा पनि नेपाल सरकारले झोलुङ्गे पुल निर्माण गरेपछी उक्त स्थानमा फलामेसाघुको लट्ठा र पाता त्यतिकै झुन्डिएर रहेको छ ।
सुबेदार नैनसिंह खडकाको चन्द्रकुमारी, लक्ष्मी, महेश्वरा, र लाम्बुटी गरि ४ श्रीमती थिए । जसबाट जुद्धबिर , भैरबसिंह, कर्णबिर, रत्नबिर, भक्तबिर, र रबिध्वज गरि ६ भाइ छोराको जन्म भएको थियो । सु. नैनसिह खडकाको बि स १९२८ मा ७७ वर्षको उमेरमा मृत्यु भएको थियो ।
२) सुबेदार :- छत्रसिंह खडका – चिलंखा दोलखा । बि. स १८५६ मा जन्मेका अचल खडकाको साइला छोरा सुबेदार छत्रसिंह खडका पनि उच्च मनोबल र महत्वकांक्षा राख्ने, पढ्न लेख्न सक्ने , निर्णय क्षमता भएको जेहेन्दार ब्यक्ती थिए । तकालिन समयमा नेपाल र भोट ( तिब्बत) बिच खटपट भै रहने हुदा आफ्नो देशको सुरक्षार्थ नेपाली सेनामा आवद्ध हुनु भएको थियो । सेनामा सुबेदार भएको बि स १९०७ मा राणा प्रधानमन्त्री जंगबहादुर राणाले गुठी राख्न अनुमती दिएको लालमोहरबाट प्रमाणित हुन्छ । तत्कालिन समयमा नेपाल सरकारको तर्फबाट चीन सरकार समक्ष र चीन सरकारले नेपाल सरकार समक्ष कोसेली/सिर्तो र खलिता पत्र हरेक ५/५ वर्षमा दिने वा आदन प्रदान गर्ने चलन थियो । यसैक्रममा बि स १९०४ मा नेपाल सरकारको तर्फबाट चीन सरकार समक्ष कोसेली / सिर्तो र खलिता पत्र प्रदान गर्न काजी सुरथसिंह पन्थको नेतृत्वमा दल मन्डलको नेता बनाएर चीन पठाइएको थियो भने दलको उपनेता सुबेदार छत्रसिंह खडका चयन हुनु भएको थियो । त्यससमयमा भोट (तिब्बत) सरकार र चीनबाट आएको भोट ( तिब्बत) मा बस्ने अम्वानहरुले नेपाली मन्डललाइ बाटोमा गर्नुपर्ने सहयोग, औषधि उपचार तथा खाध्यान्नको सहयोग नगरेको कारणबाट दलक नेता काजी सुरथसिंह पन्थको बाटोमा बिरामी भएर मृत्यु भयो र त्यसपछी दलमन्डलको उपनेताको हैसियतले सुबेदार छत्रसिंह खडकाले नेतृत्व लिएर चीन सरकार समक्ष कोशेली/ सिर्तो र खलितापत्र हस्तान्तरण गरि नेपाल फर्किनु भयो । चीनको पेकिङ्ग तर्फ जाने दुतमन्डलहरुलाइ चीन सरकार तथा तिब्बतले राजकिय सम्मानको साथ स्वागत गर्ने र फर्केर आउदा नेपालको सिमानासम्म पुर्याउन चीनको भोट (तिब्बत) मा रहेको अम्वानहरु आउने गर्थे ।
सुबेदार छत्रसिंह खडकाले चीनबाट फर्के पछि नेपाली सेनाको नोकरी छोडी आफ्नो घर व्यवहार ब्यबस्थापन र सामाजिक काम गर्ने सोच राखेको कारणले दोलखामा द्वारे काम गर्नु भयो । समाजमा परिचित ब्यक्ती भएकोले सामाजिक काम पनि केही गर्नु पर्छ भन्ने धारणा राख्ने र धार्मिक प्रबृतीको हुदा दोलखाको उत्तरी भेकबाट दक्षिण भेक जान र दक्षिण भेकको मानिसहरु उत्तरी भेक जान, भोटमा नुन लिन, श्री भिमेश्वर मन्दीर दर्शन गर्न, राजधानी काठमान्डौ जान आउन सजिलो होस भनेर तत्कालिन समयमा हालको भि. न. पा. नागदह र बैतेश्वर गाउपालिका मार्बुको काडे बीच बि. स. १९०७ मा ब्यक्तिगत खर्चमा फलामको लट्ठा/साङ्गलो बनाउन लगाइ फलामे साघु निर्माण गर्नु भएको थियो ।
दोलखा भिमेश्वर मन्दीर अगाडि जग्गा खरीद गरि दर्सनार्थी, योगी/फकिर, बटुवाहरु बस्न सजिलो होस भनी पार्टी निर्माण गरि सदावर्त चलाउन भएको थियो हाल उक्त पार्टी मर्मत संभारको अभावमा भत्केपछी पाटी निर्माण भएको स्थानमा नेपाल प्रहरीको कार्यालय रहेको छ । सदावर्त चलाउन र नागदहमा निर्मित फलामे साघुमा वार्षिक रुपमा तेल लगाउन र मर्मत संभार गर्न गुठी स्थापना गर्नु भएको थियो ।
आर्थिक वर्ष २०३७/२०३८ मा नेपाल सरकारबाट उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गरेपछी स्थानिय ब्यक्तिहरुको अनुसार उक्त फलामको लट्ठा/साङ्गलो त्यही नागदहमा थियो तर पछि कहाँ कसले के मा प्रयोग गर्यो थाह भएन ।
अचल खडकाले आफ्नो साहिला छोराको लागि चिलंखा भराङ्गमा घर निर्माणको लागि जग्गा खरीद गरि सक्नु भएको थियो भने बाबू अचल खडकाको ४३ वर्षको उमेरमा बि स १८७३ मा मृत्यु भएपश्चात् आफ्नो लागि आवस्यक पर्ने घर स्वयं सुबेदार छत्रसिंह खडकाले बि. स. १८८० मा निर्माण गर्नु भएको थियो । तत्कालिन समयमा घर निर्माणको लागि घरको घडेरी वा स्थान ज्योतिषिलाइ देखाउदा एक हजार वर्ष सम्म धेरै राम्रो घोडा बाध्ने तबेलामा कहिले पनि घोडा नटुट्ने भनेको थियो । सुबेदार छत्रसिंह खडका घोडचढिमा सोख राख्ने ब्यक्ती हुनुहुन्थ्यो । राजधानी काठमान्डौ र चिलंखा आवतजावत गर्ने क्रममा बाटोमा बि स १९०९ मा ५३ वर्षको उमेरमा मृत्यु भएको थियो ।उक्त घोडाभने छालाको काठी सहित एक्लै घर पुगेको थियो भन्ने कुरा अग्रज पुर्खाहरुबाट सुनिदै आएको हो ।
सु. छत्रसिंह खडकाको भागिरथा, सुलक्षणी र तुलसा नाम गरेको ३ श्रीमती थिए । एक श्रीमतीबाट ले. माथवरसिंह खडका र पोखलसिंह खडका, एक श्रीमती बाट ह. करबिर खडका र अर्को एक श्रीमतीबाट सनमान खडकाको जन्म भएको थियो ।
३) हवल्दार:- करवीर खडका -चागु ।
पिता सुबेदार छत्रसिंह खडकाले चिलंखा भराङ्गमा बि. स. १८८० मा निर्माण गरेको घरमा बि.स. १८८८ श्रावण २ गते जन्मनु भएको साहिला छोरा ह. करबिर खडका बोलक्कड हिम्मत भएको नेतृत्व लिन सक्ने उच्चतहको ब्यक्ती हुनुहुन्थ्यो ।उहाँ पनि नेपाली सेनामा आवद्ध हुनु भएको थियो । घोडचढिमा सोख राख्ने, सामाजिक काम गर्न रुचाउने ब्यक्ती हुनुहुन्थ्यो । आफ्नो पिता सुबेदार छत्रसिंह खडकाको साथमा काठमान्डौबाट छोरा करबिर खडकाको बिबाहको लागि दुलही मागेर फर्कने क्रममा: बाटोमा सु. छत्रसिंहको १९०९ मा मृत्यु भयो ।
तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाको समयमा बि. स. १९११-१९१२ मा भोट (तिब्बत) संग दोलखा लामाबगरको “थोबोडाडा” वा “१२०० पल्टन” भन्ने स्थानमा भएको युद्धमा सहभागी हुनुभयो । केही वर्ष सेनामा नोकरी गरेपछी धर्मकर्म गर्ने मन भएर नोकरी छोडी भारतको केही मुख्य प्रसिद्ध मन्दीरहरु र नेपालको केही प्रसिद्ध मन्दीरहरु दर्शन पैदलयात्रा गरेर नै गर्नु भएको भन्ने पुर्खाहरुबाट अवगत भएको हो । चौपायको लागि पानी खुवाउन लोटिङ्गमा “मानेपोखरी” “गुम्बासिङ्ग पोखरी” र “पद्ममती पोखरी” गरि ३ ओटा पोखरी र ढुङ्गेधारा निर्माण गर्नु भयो । हाल वातावरणिय प्रभाव र संरक्षणको अभावले पदमती पोखरी पुरी सकेको छ। गुन्वासिङ्ग पोखरीमा लोटिङ्गको सिचाइको लागि पानी ट्यान्की निर्माण गरेको छ भने “माने पोखरी” संरक्षणको पर्खाइमा छ । उहाले गाइभैसी पालन गर्ने ब्यक्तीलाइ नाम्लो डोरी हसिया बितरण गर्दै गाइभैसीहरुलाइ नुन खुवाउदै समेत हिड्नु भएको थियो । काठमान्डौमा पनि गाइचरण र नुन खुवाउनको निमित्त जग्गा खरीद गरेर राख्नु भएको थियो रे जुन “सानो गौचरण” को नामले चिनिन्छ तर यसको कुनै लिखित प्रमाण भने भेटिएको छैन ।
पिता सुबेदार छत्रसिंह खडकाले खरिद गरिदिएको जग्गा चागुमा बि. स. १९३५” मा घर निर्माण गर्नु भएको थियो । आलम्पुको पेगु भन्ने स्थानको ढुङ्गाको पहरा भएको ठाउमा गहत पकाएर झोल हाल्दै ढुङ्गाको पहरा फुटाएर बि स १९३९ मा एक कुटी निर्माण गर्नु भएको थियो । जुन “गौथली गुफा ” को नामले प्रख्यात छ । आफ्नो पिता पुर्खाहरुले सामाजिक काम गरेको देखेको हुदा तामाकोशी नदीमा जुगुको पिखुती र लामिडाडाको बन्चरे भन्दा तल बि स १९४२ मा फलामे साघु र पाटी निर्माण गर्नु भएको थियो । फलामको लट्ठामा तेल लगाउन र पाटी मर्मत सुधार गर्न गुठिको समेत ब्यबस्था गर्नु भएको थियो ।
बि. स.२०४१/२०४२ को आर्थिक वर्षमा नेपाल सरकारले उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गरेपछी उक्त फलामे साघुको लट्ठा लादुकको झोरुङ्ग खोलामा अलपत्र अवस्थामा रहेको छ । ह. करबिर खडकाले धेरै सामाजिक कार्य गर्ने योजना बनाउनु भएको थियो । स्वास्थ्य स्थिती खराव हुँदै गएपछी बि स १९५४ मा ६६ वर्षको उमेरमा मृत्यु भएपश्चात् उहाले गर्छु भनेर प्रतिबद्ध गरेको काम उहाको श्रीमती राजकुमारी र साइला छोरा कमानध्वज खडकाले पूरा गरेको थियो । सोरुङ्ग खोलाबाट खोपा, साङ्गवा, पेगु , बिगु हुँदै देउढुङ्गा सम्म करीब ७ कि मि घोडेटो बाटो बि स १९६३ मा र पेगुको गौथली गुफामा शिवालय मन्दीर निर्माण गर्नु भयो । साथै शिवालय मन्दीरमा गर्नुपर्ने दैनिक पाठ पुजाको लागि गुठिको समेत ब्यबस्था गर्नु भएको थियो जुन हालसम्म सुरक्षित रहेको छ तर मर्मत संभारको पर्खाइमा रहेको छ । कमानध्वज खडकाले निर्माण गरेको घोडेटो बाटो सडक संजाल र जलबिध्युत आयोजनाले गर्दा गर्दा हाल धेरै नष्ट भैसकेको छ । ह. करबिर खडका र कमानध्वज खडकाले चागु, बिगु, आलम्पु, लोटिङ्ग , र पिखुतीमा प्रशस्त जग्गा जोड्नु (खरिद गर्नु ) भएको थियो ।
पुरोहित निल प्रसाद खतिवडाको अनुसार ह. करबिर खडकाको ४ श्रीमती राजकुमारी, जगतकुमारी, बिष्णुकुमारी र सुभद्रा थिए । जसबाट हेमकर्ण , मानध्वज, कमानध्वज, रंगध्वज, लालबहादुर, नरबहादुर र डिल्लिध्वज गरि ७ भाइ छोराहरु र छोरीहरु जन्मिएका थिए ।
४) जमदार रायबहादुर सेठ भैरबसिंह खडका- लादुक ।
अचल खडकाको नाति तथा सुबेदार नैनसिंह खडका तथा श्रीमती महेश्वरा खडकाको सुपुत्र रायबहादुर सेठ भैरबसिंह खडकाको जन्म हाल गौरिशंकर गाउपालिका -५ सुरी “याम्बा” मा बि.स. १८८९ भाद्र ४ गते माइला सुपुत्रको रुपमा भएको हो ।आफ्नो पिता सेनाको सुबेदार हुनुको साथै बुद्धिमत्ता पूर्वक काम गर्ने भएकोले पिताको प्रभाव छोरामाथी पर्ने नै भयो ।
उहालाइ पढन लेख्नको लागि घरमा नै शिक्षक राखेर पढाउने काम भएको थियो । भैरबसिंह खडकाको लागि सुबेदार नैनसिंह खडकाले लादुकमा जग्गा खरिद गरि घर निर्माण गरिदिनु भयो जुनघर “मुलघर” को नामले प्रचलित छ ।
सुरी याम्बाबाट पिता नैनसिंह खडकाले लादुकमा निर्माण गरिदिएको घरमा भैरबसिंह खडका आएर बस्न सुरु गरेपछी तत्कालिन लादुकमा रहेको टक्सारको जमदार पनि हुनभयो । उहाँ दोलखा जिल्लाको उत्तरी भेकको धनिमानी ब्यक्ती मानिनुहुन्थ्यो । बि.स. १९६१/१९६२ मा श्री ३ चन्द्रशमसेर राणा प्रधानमन्त्री भएको समयमा भोट (तिब्बत) र नेपाल बिच युद्ध होला जस्तो भयो । यो भन्दा अगाडि एकपटक जंगबहादुर राणा प्रधानमन्त्री भएको समयमा बि.स. १९११-१९१२ मा हाल बिगु गाउपालिका-१ लामाबगरमा पर्ने “थोबोडाडा” वा “१२०० पल्टन” भनेर चिनिने स्थानमा भोट (तिब्बत) र नेपाल युद्ध भएर पनि भोट (तिब्बत) को हार भएको थियो । फेरि युद्ध हुने संभावना बढेपछी राणा प्रधानमन्त्री श्री ३ चन्द्रले तत्कालिन इष्ट इन्डिया कम्पनीसंग सैनिक सहयोग माग्नु भयो तर फिरिङ्गिहरुले सहयोग गर्न असमर्थ वा तत्परता नदेखाएपछी प्रधानमन्त्री श्रे ३ चन्द्रले कुनैपनी देशको सहयोग नमागी भोट (तिब्बत) संग युद्ध गर्ने सोच बनाइ त्यस भेकमा तत्कालिन नेपाली सेनालाइ आवश्यकता पर्ने रसदपानी कसले सहयोग गर्न सक्छ भनी बुझ्दा भैरबसिंह खडकाले नेपाली सेनालाइ युद्धको समयमा आवश्यकता अनुसार १० हजार मुरी सम्म अनाज प्रदान गरि रसदपानीको ब्यबस्था वा सहयोग गर्न सक्छु र भोट (तिब्बत) संग युद्ध गर्नुपर्छ भनी हौसला प्रदान गरि राय/सल्लाह दिएको हुदा प्रधानमन्त्री श्री ३ चन्द्रले उहालाइ “रायबहादुर सेठ” भन्ने पद सम्मान स्वरुप प्रदान गरिएको हो । नेपालको सेनाहरु बुलुङ्ग गाउभन्दा माथी कालिञ्चोक भन्ने डाडामा गएर केही दिन बसेको तर युद्ध भएन । बुलुङ्ग गाउमाथी सेनाले खनेको सुरुङ्गहरु स्थानियहरुको भनाइ अनुसार हाल पनि देखिन्छ । “थोबो डाडा” वा “१२०० पल्टन” भन्ने ठाउमा ढुङ्गाको कृतिम सेना बनाएर वा ढुङ्गा ठड्याएर राखेको हालपनी देख्न सकिन्छ । रायबहादुर सेठ भैरबसिंह खडका धनिमानी र टक्सारको जमदार पनि भएकोले सुरक्षाको लागि सेनाको पनि ब्यबस्था तत्कालिन प्रधानमन्त्री श्री ३ चन्द्रसमशेरले गरिदिएको थियो ।
रायबहादुर सेठ भैरबसिंह खडकाले लादुक सिंगटीमा बि.स. १९६४ मा शिवालय मन्दीर र पाटि निर्माण गरि पुजाको लागि गुठी राखी पुजारीको समेत ब्यबस्था गर्नु भएको थियो । लादुकको कात्तिके र लामिडाडा सिङ्गटी नजिक कालिञ्चोकबाट प्रवाहित हुने तामाकोशी नदीमा आफ्नो ब्यक्तिगत खर्चमा रामेछाप ठोसे फलाम खानीबाट फलाम ल्याइ फलामको लट्ठा/ साङ्गलो बनाइ” फलामे साघु” निर्माण गरि वार्षिक तेल लगाउन गुठिको ब्यबस्था समेत गर्नु भएको थियो । जसबाट उत्तरीभेकको मानिसहरुलाई दक्षिण भेक चरिकोट ,रामेछाप, काठमान्डौ आवत जावत गर्न सजिलो भएको थियो ।
नेपाल सरकारले आ.व. २०२९/२०३० मा सिङ्गटीमा झोलुङ्गे पुल निर्माण गरेपछी कात्तिकेको उक्त “फलामेसाघु” लादुक बुलुङ्गसी चौरमा बि. स. २०१३ मा प्राथमिक तहमा श्री ढालबहादुर खडकाले स्थापना गर्नु भएको बिध्यालय बि. स. २०२९ मा निम्न माध्यामिक बिध्यालय स्वीकृत गरि संचालन रहेको श्री शान्ती आदर्श निम्न माध्यामिक बिध्यालयलाइ माध्यामिक बिध्यालय बनाउन बि.स.२०३१ बैशाख महिनामा फलामे साघुको लट्ठा भैरबसिंह सन्ततीले बिक्री गरि सो रकमबाट बिध्यालय भवन निर्माण गरेको थियो । तत्कालिन पूर्व राष्ट्रीय पञ्चायत सदस्य तथा जिल्ला पञ्चायत सभापती श्री ढालबहादुर खडकाले मा. बि. कक्षा संचालनको लागि आवस्यक कागजाज पेश गरि स्वीकृत ली सक्नु भएको थियो तर बि स २०३१ असौजमा अचानक सभापती ढालबहादुर खडकाको मृत्यु भयो र कक्षा संचालनमा २ वर्ष ढिला हुन गै बि.स.२०३४ बाट माध्यामिक तहको पढाइ सुरु भयो । बिध्यालय स्थापना देखि माध्यामिक तह सम्मको कक्षा संचालनमा स्वीकृत ल्याउने श्रेय स्व. ढालबहादुर खडकालाइ छ ।
बि.स. २०७०/२०७१ बाट रायबहादुर सेठ भैरबसिंह खडका सन्ततीहरुले भैरबेश्वर ट्रष्ट मार्फत सिंगटीमा आफ्नो पुर्खा भैरबसिंह खडकाले निर्माण गरेको शिवालय मन्दिरलाइ पुन: निर्माण गरि श्री भरवेश्वर शिवालय मन्दिर भजनघर र भैरबसिंहको शालिक निर्माण गरेको छ । भैरबेश्वर ट्रष्ट स्थापना गरेर आफ्नो पुर्खाको योगदान जिवनभर स्मरणीय रहोस भनेर र बि.स. २०४०/२०४१ बाट सिंगटीमा बजार स्थापना गर्ने योजनाकारको श्रेय दोलखा जिल्लाको पूर्व जिल्ला पञ्चायत उप सभापती तथा कार्यवाहक सभापती श्री पुष्कर बहादुर खडकालाइ छ । कपिल गोत्रको पुवार खडका प्रती सद्भाव र मायाममता राख्ने ब्यक्ती भएकोले “पुवार खडका गुठी” को स्थापना र “पुवार खडका गुठी भवन” काडाघारी काठमान्डौमा निर्माण गर्न गुठिको संस्थापक उपाध्यक्ष श्री पुष्कर बहादुर खडकाको ठूलो योगदान रहेको छ । पुरानो बानेश्वर चोकबाट रुद्रमतीको सेतोपुल जाने सडकको दायाँ भाग वा पट्टि ढुंगेधारा भएको स्थानमा पिता स्व. कृतिबहादुर खडका तथा माता स्व. बिष्णुकुमारी खडकाको पुन्य स्मृतीमा पिपलको रुख रोप्नुको साथै सानो मन्दिर स्थापना गर्नु भएको छ ।
जमदार रायबहादुर सेठ भैरबसिंह खडकाको सुपुत्र सुर्यसिंह खडका (कटक बहादुर) ले अधेरी खोला नजिक सुनखानी मलेपुको डिल, गुमुखोला, लामिडाडा चप्लेटी, सिंगटीबाट लादुक जाने बाटोको माइथानमा चौतारा निर्माण, बर पिपल र लाकुरी रोप्नुको साथै लादुक माइथानमा बटुवाहरुकोलागी ढुंगा खोपेर पानी जम्मा गरि पिउने ब्यबस्था गर्नु भएको थियो ।
रायबहादुर सेठ भैरबसिंह खडकाको श्रीमती बालकुमारी खडकाबाट क. चन्द्रसिंह खडका, ह. पद्मसिंह , डम्बरसिंह , नरमान , सु. सुर्यसिंह ( कटक बहादुर ) र पिताभक्त गरि ६ भाइ छोरा थिए ।
५) सुबेदार शमसेर बहादुर खडका – खोपा ।
सुबेदार छत्रसिंह खडकाको नाति लेफ्टिनेन्ट माथवरसिंह खडका तथा श्रीमती जेष्टकुमारी खडकाको कान्छा सुपुत्रको रुपमा बि स १९१८ मा जन्मनु भएको शमसेर बहादुर खडकाले पनि नेपाली सेनामा सुबेदार पदबाट नोकरी सुरु गर्नु भएको थियो । उहाले तत्कालिन प्रधानमन्त्री श्री ३ वीर शमसेर राणाको हजुरिया कमान्डिङ्ग कर्णेल फौदसिंह खत्रीको छोरी दीपकुमारी खत्री सङ्ग बिबाह गर्नु भएको थियो । आफ्नो उमेर हुदाहुदै पनि उहाले बिचमा सेनाको नोकरी छाडेर आफ्नो पारीवारिक जीवन बिताउन खोपा घरमा गएर खेतिपाती, पशुपालनमा आवद्ध भै सामाजिक बिकासको काम गर्नु भएको थियो । आफ्नो पिता पूर्खाले गरेको सामाजिक कामको अनुशरण गर्दै रामेछापको ठोसे फलाम खानीबाट फलाम ल्याइ लट्ठा/ साङ्गलो बनाउन लगाइ कालिञ्चोकबाट प्रवाहित हुने तामाकोशी नदीमा खोपाचागु र बाबरे बिच सोरुङ्गखोला भन्ने स्थानमा बि.स. १९७३ मा फलामे साघु निर्माण गर्नु भयो । सोरुङ्ग खोलामा रहेको श्री तामेश्वर महादेव मन्दीर छेउमा दर्सनार्थी तथा बटुवाहरुको लागि बसोबास गर्न सुबिधा होस भनेर सोरुङ्गखोला र खोपामा गरि २ पाटी निर्माण गर्नु भयो । फलामे साघुमा तेल लगाउन र पाटी मर्मत सम्भार गर्न गुठी समेत राख्नु भएको थियो ।
सुबेदार शमसेर बहादुर खडका र श्रीमती दीपकुमारी खत्री खडकाको दीपबहादुर र जिमवाल चक्रबहादुर खडका २ छोरा थिए ।
आ.व. २०३०/२०३१ मा फलामेसाघु भएको स्थानमा नेपाल सरकारले झोलुङ्गे पुल निर्माण गरेपछी उहाको कनिष्ठ सुपुत्र जिम्वाल श्री चक्रबहादुर खडकाले खोपा र लोटिङ्ग बिच पर्ने भराती भन्ने स्थानको साङ्गवा खोलामा ब्यक्तिगत खर्चमा सारेर निर्माण गर्नुभयो । हाल उक्त पुल सुरक्षित भएता पनि मर्मत सुधारको अभावमा यात्रुहरु कठिनाइ पूर्वक आवत-जावत गर्दछन । हाल उक्त दुई पाटी भने २०७२ को भुकम्प पश्चात पुन: निर्माण हुन सकेन ।
सुबेदार शमसेर बहादुरको पनाति तथा चक्रबहादुर खडकाको नाति अष्ट्रेलिया न्यू साउथ वेल्स राज्यको पूर्व अवैतनिक नेपाली महाबाणिज्यदुत, इन्जिनियर , सफल बयबसायी श्री दीपक खडकाले कालिञ्चोक भगवती मन्दीर वरिपरि फलामको रेलिङ्ग तथा गेट बि. स. २०५१/२०५२ मा आफ्नो माता स्व. नरेन्द्र कुमारी खडकाको पुन्य स्मृतिमा ब्यक्तिगत खर्चमा निर्माण गर्नु भएको थियो ।
सुबेदार छत्रसिंह खडका सन्ततीहरुले लोटिङ्ग साङ्गवामा रहेको श्री चक्रेश्वर महादेव मन्दिर छेउ “छत्रसिंह स्मृती भवन” २०७०/२०७१ मा निर्माण गरेको छ । जसबाट बटुवा र हरेक वर्षको पौष मसान्त र माघे संक्रान्तीको दिन श्री चक्रेश्वर महादेव मन्दिर परिसरमा लाग्ने जात्रामा बत्ती बाल्न आउने धार्मिक दर्शनार्थिहरुलाइ बस्नको निमित्त सजिलो भएको छ । श्री चक्रेश्वर महादेव मन्दिर पुन: निर्माणको लागि केही आर्थिक सहयोग पनि गरेको थियो ।
चिलंखे खडका गुठिले सोरुङ्गखोला घाटमा दाह संस्कार गर्न आउने मलामिहरु बस्नको लागि भवन/ पाटी निर्माण गरेको थियो तर सिंगटी हाइड्रोपावर निर्माण हुदा भत्काएपछी हाइड्रोपावरले पुन: अर्को पाटी निर्माण गरिदिएको छ ।
तत्कालिन समयमा योगी नरहरीनाथ दोलखा जिल्लाको कलासंस्कृती तथा इतिहासको खोज अनुसन्धान गर्न जानेक्रममा चिलंखा भराङ्गमा कर्णेल श्री भक्तबहादुर खडकाको घरमा केही दिन बिताएको र अध्ययन अनुसन्धानको क्रममा प्राप्त सूचना वा जानकारीको आधारमा योगीले आफ्नो कुनै पुस्तक वा पत्रीकामा दोलखा जिल्लाको सामाजिक काम चिलंखे खडकाहरुले गरेका छन भनेर उल्लेख गरेको थियो भन्ने जानकारहरुबाट प्राप्त भएको थियो तर कुन पुस्तक वा पत्रीकामा हो भनेर हामी उक्त पुस्तकको खोजीमा छौ । योगि नरहरीनाथले ६०० भन्दा माथिको संख्यामा पुस्तकहरु प्रकाशन गर्नु भएको थियो तर तत्कालिन सरकारले संरक्षण र पुन: गर्न सकेन ।
स्रोत:-
१) चिलंखे खडका एक छोटो चिनारी २०६३ दोस्रो संस्करण – श्री चन्द्रबहादुर खडका चिलंखा, गौरिघाट काठमान्डौ ।
२) भक्तबिर सन्तती पारीवारीक बिबरण- श्री राम, श्री जिष्णु, श्री कृष्ण, श्री बिष्णु , सुरी दोलखा ।
३) सेठ भैरबसिंह खडका सन्तती पारीवारिक बिबरण – म.से. श्री अनिल खडका (अ.प्रा.) – लादुक दोलखा हाल बानेश्वर ।
४) श्री हरिशरण खडका- लादुक दोलखा हाल बानेश्वर ।
५) श्री निल प्रसाद खतिवडा – बाबरे सिस्नेरी हाल दुवाकोट ।
६) श्री गंगाराम खतिवडा- बाबरे सिस्नेरी हाल निलबाराही ।
७) श्री लोकराज आचार्य – सिङ्गटी लामिडाडा दोलखा ।
ADVERTISEMENT









