बाँके । कर्णाली प्रदेशको पर्यटन विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको “कर्णाली टुरिज्म मिट २०२६” सफलतापूर्वक सम्पन्न भएको छ। नेपालको इतिहासमै पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रम नेपाल पर्यटन बोर्ड, कर्णाली प्रदेश सरकार तथा विभिन्न नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत आयोजित फ्याम ट्रिपमा भारतका टुर अपरेटर, ट्राभल एजेन्सी, म्यारिज प्लानर, MICE आयोजक, भारतीय तथा नेपाली पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरूले कर्णालीको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकारात्मक सुझाव तथा सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन्।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्ली राज रेग्मीले कार्यक्रमको समग्र व्यवस्थापन प्रभावकारी रहेको उल्लेख गर्दै यस्तो पर्यटन मार्टले कर्णालीको पर्यटन क्षेत्रमा नयाँ सम्भावना थप्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले देशले ठूलो लगानी गरेर आयोजना गरेको पर्यटन मार्टले आगामी दिनमा कर्णालीमा कति पर्यटक भित्र्याउन सफल हुन्छ भन्ने विषयको मूल्याङ्कन आगामी वर्षसम्म स्पष्ट हुने बताउनुभयो।

अध्यक्ष रेग्मीले नाट्टा बाँके च्याप्टरको तर्फबाट कार्यक्रममा सहभागी सम्पूर्ण भारतीय तथा स्वदेशी–विदेशी पर्यटन व्यवसायी, नेपाल तथा भारतका पत्रकार एवं मिडियाकर्मीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ। साथै, कार्यक्रममार्फत पर्यटन प्रवर्द्धन सम्बन्धी अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेकोमा आयोजकप्रति विशेष आभार व्यक्त गर्नुभएको छ।
उहाँले कर्णाली टुरिज्म मिट सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रम संयोजक तर्क बहादुर शाहीसहित सम्पूर्ण आयोजक टिमलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नाट्टा बाँकेले पर्यटन प्रवर्द्धनका गतिविधिमा सहकार्य र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।









