ट्रेण्डिङ

सञ्चारिका समूह नेपाल, बाँके शाखाले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ। कोहलपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित विशेष शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा उक्त भित्तेपात्रो औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

कार्यक्रम सञ्चारिका समूह बाँकेकी अध्यक्ष पवित्रा परियारको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

त्यसैगरी कार्यक्रममा प्रेस सेन्टर लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप वाग्ले, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान का.वा. अध्यक्ष संगिन शर्मा, प्रेस सेन्टर बाँकेका सचिव पुष्पराज हमाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, कोहलपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गिरीधारी शर्मा, सञ्चारिका समूहकी संस्थापक अध्यक्ष अक्षरी पोखरेल लगायत विभिन्न पत्रकार संगठनका पदाधिकारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले सञ्चार क्षेत्रमा महिला पत्रकारहरूको भूमिका, योगदान तथा उनीहरूले भोगिरहेका चुनौतीहरूबारे चर्चा गरेका थिए। उनीहरूले महिला पत्रकारहरूको अवसर, स्रोत र निर्णय प्रक्रियामा समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी दिनमा अझ सशक्त, प्रभावकारी र अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका थिए।

त्यसैगरी ग्रामीण तथा मोफसल क्षेत्रका महिला पत्रकारहरूले भोगिरहेका व्यावसायिक चुनौती, स्रोतसाधनको अभाव, सुरक्षा चुनौती तथा अवसरको असमानता जस्ता विषयमा पनि छलफल गरिएको थियो। वक्ताहरूले यस्ता समस्या समाधानका लागि राज्य, सञ्चार संस्था तथा सरोकारवाला निकायको संयुक्त प्रयास आवश्यक रहेको बताएका थिए।

सञ्चारिका समूह नेपाल, बाँके शाखाले स्थापना कालदेखि नै महिला पत्रकारहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, पेशागत दक्षता वृद्धि तथा अधिकार सुनिश्चितताका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमले संस्थाको विगत, वर्तमान र भविष्यका योजनालाई उजागर गर्नुका साथै महिला पत्रकारहरूको सशक्तिकरण र लैंगिक समानताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा सञ्चारिका समूहकी कार्यसमिति सदस्य सन्ध्या गैरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारिका समूहकी कोषाध्यक्ष धना केसीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय