राणाकालीन समयमा शिक्षा क्षेत्रमा त्यति विकास भएको थिएन। त्यसैले शिक्षाको महत्त्व बुझेका व्यक्तिहरूले आफ्ना छोराछोरीहरूलाई घरमै शिक्षक राखेर साधारण पढाइ गराउने चलन थियो। प्रजातन्त्र प्राप्तिपछि केही विद्यालयहरू खुले पनि जहाँ शक्ति, भक्ति वा भनसुन पुग्थ्यो, त्यहाँ मात्र विद्यालय स्थापना हुन्थ्यो। सर्वसाधारणले पनि अध्ययन गर्न पाउने भए तापनि सबै क्षेत्र वा दुर्गम स्थानहरूमा विद्यालय स्थापना गर्न कठिनाइ थियो।
यदि स्थापना भए पनि योग्य शिक्षकहरू पाउन अझ कठिन थियो। यसै क्रममा दोलखा जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने अचल खड्काका सन्ततीहरूले पनि केहीले राजधानीमा नोकरी गरेर समय-समयमा आवतजावत गर्दा शिक्षाको महत्त्व बुझेका थिए। शिक्षाबाट मात्र गाउँ उज्यालो हुने, रोजगारी सिर्जना गर्न सकिने, विकासको अवधारणा बुझ्न सकिने जस्ता विषयलाई मध्यनजर गरी बजेटको अभाव भए तापनि समाजको फाइदाका लागि आफू पद र शक्तिमा पुगेको समयमा विभिन्न गाउँहरूमा विद्यालय स्थापना गरेका थिए।
यसरी विद्यालय स्थापना गर्दा तत्कालीन समयमा श्री हिमालय प्राथमिक विद्यालय चिलंखा वि.सं. २०१९ मा तत्कालीन राणाकालीन समयका सुब्बा तथा प्रधानपञ्च श्री अमृतबहादुर खड्का र समाजसेवी श्री डबलबहादुर खड्काले स्थापना गर्नुभएको थियो। विद्यालय भवन निर्माण गर्न जग्गा दान भने श्री वेदबहादुर खड्का र श्री भोगेन्द्रबहादुर खड्काले गर्नुभएको थियो।
प्राथमिक विद्यालयबाट निम्न माध्यमिक विद्यालय सञ्चालन गर्न श्री अमृतबहादुर खड्का, श्री डबलबहादुर खड्का, श्री कृष्णबहादुर खड्का, श्री इन्द्रबहादुर खड्का र श्री गजेन्द्रबहादुर खड्काले चौरीखर्कस्थित जग्गा निःशुल्क रूपमा विद्यालयको नाममा रजिस्ट्रेशन पास गरिदिनुभएको थियो।
वि.सं. २०६६ मा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री प्रबिनकुमार खड्काले जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिसँग समन्वय गरी दार्मेखोला चिलंखामा रहेको विद्यालयलाई चिलंखा घुन्सामा जग्गा खरिद गरी नयाँ भवन निर्माण गराई जिल्ला शिक्षा कार्यालय चरिकोटबाट माध्यमिक विद्यालय सञ्चालन गर्न स्वीकृति लिई कक्षा १० सम्म सञ्चालन गराउनुभयो।
हाल विगु गाउँपालिका-७ विगु स्थित गौरिशंकर प्राथमिक विद्यालय वि.सं. २०१२ मा र विगु गाउँपालिका-६ आलम्पु स्थित श्री थम्पु प्राथमिक विद्यालय वि.सं. २०२२ मा श्री टेकबहादुर खड्का (बिगु राखाम) ले स्थापना गर्नुभएको थियो।
विगु गाउँपालिका-८ ब्याडचौर चागु स्थित श्री हिमालय प्राथमिक विद्यालय शिक्षा तथा समाजसेवी श्री केदारबहादुर खड्काले आफ्नो निजी खेत करिब ५ रोपनी दान गरी वि.सं. २०१८ मा विद्यालय भवन निर्माण गरी सञ्चालन गर्नुभएको थियो। श्री हिमालय निम्न माध्यमिक विद्यालय चागु ब्याडचौरलाई माध्यमिक विद्यालय बनाउन श्री वेदबहादुर खड्का, इ. श्री नुतन खड्का र इ. श्री दीपक खड्काले करिब ५ रोपनी खोपाको जग्गा प्रदान/दान गरी विद्यालयको नाममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री प्रेमबहादुर खड्कामार्फत रजिस्ट्रेशन पास गरिदिनुभएको थियो।
विगु गाउँपालिका-५ खार्तालको श्री हिमखण्डे भुवनेश्वरी प्राथमिक विद्यालय वि.सं. २०२८ मा जग्गा खरिद गरेर भवन निर्माण गरिएको र लोटिङ स्थित श्री देवीटार प्राथमिक विद्यालय वि.सं. २०३२ मा तत्कालीन प्रधानपञ्च श्री ताराबहादुर खड्का र समाजसेवी श्री कृतिबहादुर खड्काले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय स्वीकृतअनुसार केही सार्वजनिक जग्गामा स्थापना गरी केही नपुग जग्गा खरिद गरेर भवन निर्माण गरी कक्षा ३ सम्म स्वीकृति प्राप्त गरी सञ्चालन गरिएको थियो।
श्री देवीटार आधारभूत विद्यालयलाई वि.सं. २०७८ मा कक्षा १० सम्मको स्वीकृति गराउने श्रेय पूर्व गाविस अध्यक्ष, शिक्षासेवी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री प्रबिनकुमार खड्काको ठूलो योगदान रहेको छ। श्री भीमसेन खड्का लोटिङ (हाल रिडिङ बेलायत) ले श्री देवीटार विद्यालयलाई केही जग्गा पनि दान/प्रदान गर्नुभएको छ।
श्री हिमाली देवी प्राथमिक विद्यालय स्याखुमा वि.सं. २०४५ मा र श्री जनता प्राथमिक विद्यालय बुलुकपामा वि.सं. २०४६ मा तत्कालीन प्रधानपञ्च श्री केन्द्रबहादुर खड्काले स्थापना गर्नुभएको हो।
श्री कैलेश्वरी प्राथमिक विद्यालय फेल्दर चिलंखामा व्यक्तिगत जग्गा दान र भवन निर्माण गरी विद्यालय स्थापना वि.सं. २०४५ मा श्री हिम्मतबहादुर खड्काले गर्नुभएको हो। चिलंखा स्थित थापागाउँमा श्री चिर्कुनस्थान प्राथमिक विद्यालय पूर्व शिक्षक तथा समाजसेवी श्री शरोजबहादुर खड्का र श्री जगतबहादुर खड्काले स्थापना गर्नुभएको थियो। श्री जगतबहादुर खड्काले विद्यालय भवन निर्माण गर्न जग्गा खरिदका लागि रकम रु. १०,०००/- (अक्षरूपी दस हजार) आर्थिक सहयोग गर्नुभएको थियो।
हाल श्री चिर्कुनस्थान आधारभूत विद्यालय थापागाउँ र श्री सरस्वती आधारभूत विद्यालय च्यार्सापाको विद्यार्थी अभाव भएको कारणले श्री हिमालय माध्यमिक विद्यालय चिलंखामा मर्ज गरिएको छ।
विगु गाउँपालिका-४ लादुकको श्री शान्ति आदर्श प्राथमिक विद्यालय तत्कालीन समाजसेवी तथा राजनीतिज्ञ श्री ढालबहादुर खड्काले वि.सं. २०१३ मा स्थापना गर्नुभएको हो। वि.सं. २०२९ मा निम्न माध्यमिक स्वीकृति लिई कक्षा ७ सम्म सञ्चालन गरिएको थियो।
श्री ढालबहादुर खड्का दोलखा जिल्ला पञ्चायतको सभापति हुँदा वि.सं. २०३० मा माध्यमिक विद्यालय स्थापनार्थ भवन निर्माण गर्न रायबहादुर सेठ भैरवसिंह खड्काले सिंगटी कात्तिकेमा वि.सं. १९६४ मा निर्माण गरेको फलामे साँघुको लट्ठा बिक्री गरी लादुक बुलुङसीमा वि.सं. २०३१ मा भवन निर्माण गर्नुभएको थियो र माध्यमिक विद्यालय सञ्चालनका लागि स्वीकृति समेत लिनुभएको थियो। तर अकस्मात जिल्ला पञ्चायत सभापति श्री ढालबहादुर खड्काको वि.सं. २०३१ मा स्वर्गारोहण भएकाले कक्षा सञ्चालन हुन सकेन। वि.सं. २०३४ बाट मात्र माध्यमिक विद्यालय स्तरको कक्षा सुरु भयो र दोलखाको उत्तरी भेगमा बसोबास गर्ने मानिसहरूलाई माध्यमिक स्तरसम्मको शिक्षा हासिल गर्न सजिलो भयो।
त्यस समयमा दोलखा जिल्लामा मेलुङ, नाम्दु, जिरी, दोलखा र सुस्पा क्षेमावती गरी जम्मा ५ वटा माध्यमिक विद्यालयहरू थिए। लादुकमा माध्यमिक विद्यालय स्थापना भएपछि ६ वटा माध्यमिक भएका थिए।
विगु गाउँपालिका-३ बुलुङ स्थित श्री शारदा प्राथमिक विद्यालय नेपाली सेनाको नोकरी छोडेर गाउँमा केही गर्ने सोचका साथ जन्मस्थानमा फर्की ५ रोपनी जग्गा दान गरी विद्यालय भवन निर्माण गरेर वि.सं. २०२१ बाट कक्षा सञ्चालन गर्ने व्यक्ति ले. श्री रत्नबहादुर खड्काबाट भएको हो। विद्यालय स्थापना पश्चात श्री विष्णु गजाधर खड्काले पनि केही जग्गा प्रदान गर्नुभएको थियो। करिब ५ वर्ष अगाडि श्री राम गजाधर खड्काले पनि निःशुल्क जग्गा प्रदान गर्नुभएको छ।
गौरिशंकर गाउँपालिका-५ सुरी स्थित श्री हलेश्वर प्राथमिक विद्यालय वि.सं. २०१६ र श्री भुवनेश्वरी प्राथमिक विद्यालय तत्कालीन समयका समाजसेवी तथा शिक्षाको महत्त्व बुझेका व्यक्तिहरू श्री दिलबहादुर खड्का, श्री पदमबहादुर खड्का, श्री शिवबहादुर खड्का र कप्तान श्री रामबहादुर खड्काले स्थापना गर्नुभएको हो। साथै गौरिशंकर गाउँपालिका जुगु स्थित श्री नीलकण्ठेश्वर प्राथमिक विद्यालय वि.सं. २०१८ मा तत्कालीन समाजसेवी श्री तीर्थबहादुर खड्काले स्थापना गर्नुभएको हो।
श्री बैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्थित श्री क्षेत्रावती प्राथमिक विद्यालय वि.सं. २०१६ मा तत्कालीन समाजसेवी श्री छत्रबहादुर खड्काले करिब २० रोपनी जग्गा दान गरी विद्यालय स्थापना गर्नुभएको हो।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा श्री शारदा प्राथमिक विद्यालय र अन्य केही गाउँमा तत्कालीन समाजसेवी श्री वीरबहादुर खड्का ओख्रेनीले विद्यालय स्थापना गरी सञ्चालनमा ल्याउनुभएको थियो।
वि.सं. २०३७/२०३८ मा तत्कालीन खाद्य कृषि सचिव श्री वेदबहादुर खड्काले दोलखा चरिकोटमा गौरिशंकर क्याम्पस स्थापना गर्न महत्त्वपूर्ण योगदान गर्नुभएको थियो।
यसरी विद्यालय स्थापना गर्दा आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गरी स्थापना भएपश्चात ६ महिनादेखि करिब १.५ वर्षसम्म (अर्थात् नेपाल सरकारबाट स्वीकृति नहुँदासम्म वा कोटा प्राप्त नहुने समयसम्म) देउसी-भैलो कार्यक्रम, चन्दा संकलन र आफ्नो व्यक्तिगत खर्चमा जग्गा खरिद गरी भवन निर्माण, शिक्षकलाई मासिक तलब र खानाको व्यवस्था समेत गरी सञ्चालन गरिएको थियो।
अचल खड्काका सन्ततीहरूले आफ्ना छोराछोरीहरूलाई राजधानी काठमाडौं वा अन्य स्थानमा अध्ययन गर्न पठाए तापनि गाउँमा बसोबास गर्नेहरूलाई गाउँमै अध्ययन गर्न सजिलो होस् भनी समय-समयमा आवश्यकता अनुसार विद्यालय स्थापना गरेको देखिन्छ। आफ्नो परिवार वा वंशज मात्र नभई अरूलाई पनि शिक्षा आर्जन गर्न अन्य ठाउँमा जान प्रेरित गर्ने खड्काहरूको ठूलो योगदान छ।
त्यसमा पनि इमानदारीपूर्वक भन्नुपर्दा शिक्षा प्रेमी, समाजसेवी तत्कालीन प्रधानपञ्च श्री डबलबहादुर खड्का चिलंखा, श्री कृतिबहादुर खड्का लोटिङ, श्री ढालबहादुर खड्का लादुक र श्री केदारबहादुर खड्का चागुको ठूलो योगदान रहेको छ। उहाँहरूले प्रत्येक घर-घर गएर छोराछोरीहरूलाई अध्ययन गर्न वा विद्यालय पठाउन हौसला प्रदान गर्नुभएको थियो।
यसरी दुःखका साथ प्राथमिक स्तरमा स्थापना गरेका विद्यालयहरू अहिले आधारभूत तह (कक्षा ८ सम्म) र माध्यमिक स्तर (कक्षा १२ सम्म) सञ्चालन भएर सबैले आफ्नै घरमा बसेर विद्यालय गएर शिक्षा आर्जन गर्न सकेका छन् वा सजिलो भएको छ।
माथि उल्लेखित विद्यालयहरूमा सुरुका केही वर्ष वा पूरा समय अध्ययन गरी उच्च शिक्षाका लागि अन्य स्थानमा गएर अध्ययन गर्ने छात्र तथा छात्राहरू हाल नेपाल सरकारको प्रथम श्रेणी, चिकित्सक, इन्जिनियर, नेपाल नेपाली सेनामा प्रमुख सेनानी/महासेनानी, नेपाल प्रहरीमा तथा रा.अ.बि. मा उपप्रमुख अधिकृत, शिक्षक भएका छन्।
छात्रवृत्ति स्थापना र प्रदान :
वि.सं. २०५९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता नं. ७७१/०५९-६० भएको दोलखा जिल्लाको उत्तरी भेगको काठमाडौं उपत्यकामा बसोबास गर्ने पुर्खा अचल खड्काका सन्तती कपिल गोत्रका पुवार खड्काहरूले बन्धुबान्धवबीच माया-ममता, चिनजान र आपसी सहयोगका लागि स्थापना गरेको चिलंखा खड्का अचल सन्तती समाज काठमाडौं ले शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले दोलखा जिल्लाको उत्तरी भेगका आधारभूत र माध्यमिक विद्यालयहरू तथा काठमाडौं जिल्लाको श्री विजय मेमोरियल माध्यमिक विद्यालय का लागि छात्रवृत्तिको व्यवस्था वि.सं. २०६८ बाट सुरु गरेको छ। क्रमशः छात्रवृत्ति प्रदान गर्ने दाताहरूको पनि वृद्धि भइरहेको छ।
छात्रवृत्ति प्रदान गर्न आर्थिक सहयोगी दाताहरूले आफ्नो माता/पिता र श्रीमतीको नाममा विद्यालयको स्तर अनुसार कक्षाहरूमा प्रथम हुने विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति कोषमा राखेको रकमको ब्याजबाट रु. ६,०००/- प्रदान गर्ने गरिएको छ। हरेक छात्रवृत्तिमा रु. १ लाख राखिएको छ भने इश्वरादेवी शैक्षिक छात्रवृत्तिका लागि रु. ३७,०००/- जम्मा गरिएको छ।
सर्वप्रथम दोलखा जिल्लाको उत्तरी भेगका विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति दिनुपर्छ भनेर प्रस्ताव गर्नुहुने नेपाली सेनाका महासेनानी भक्तबहादुर खड्काका सुपुत्र पूर्व उपप्रमुख अधिकृत रा.अ.बि. श्री चन्द्रबहादुर खड्काको ठूलो देन रहेको छ।
उहाँले आफ्नो माता सोमकुमारी र पिता महासेनानी भक्तबहादुर खड्काको नाममा “सोम-भक्त स्मृति छात्रवृत्ति” श्री हिमालय माध्यमिक विद्यालय चिलंखामा कक्षा ८ मा प्रथम हुने छात्र वा छात्रालाई र श्रीमती इश्वरी खड्काको नाममा “इश्वरी स्मृति छात्रवृत्ति” श्री विजय मेमोरियल माध्यमिक विद्यालय डिल्लिबजार काठमाडौंमा कक्षा-८ मा छात्रामध्येबाट सर्वाधिक अंक ल्याउने छात्रालाई कक्षा ९ र १० मा अध्ययन गर्दा दिने गर्नुभएको छ।
माता तथा सासुको नाममा छोरी श्रीमति निरला भट्टराई तथा ज्वाई डा श्याम प्रशाद भट्टराईबाट श्रीमति बाबादेवि खड्काको नाममा “बाबादेवी स्मृति छात्रवृत्ति” कक्षा १० मा छात्राहरूको तर्फबाट सर्वाधिक अंक प्राप्त गर्ने छात्रालाई कक्षा ११ र १२ मा, नेपाल प्रहरीका पूर्व एसपी श्री कमलबहादुर खड्काले आफ्नो माता चन्द्रकुमारी र पिता कृष्णबहादुर खड्काको नाममा “चन्द्र-कृष्ण स्मृति छात्रवृत्ति” कक्षा ३ मा प्रथम हुने छात्र तथा छात्रालाई वार्षिक एकमुष्ट रु. ५,०००/-, श्रीमती निर्मला (दुर्गाकुमारी)खड्काले श्रीमान् केशरबहादुर खड्काको नाममा “केशर-स्मृति छात्रवृत्ति” श्री हिमालय माध्यमिक विद्यालयमा कक्षा ६ मा प्रथम भई कक्षा ७ र ८ मा अध्ययन गर्ने छात्र तथा छात्रालाई, प्रमुख सेनानी (अ.प्रा.) श्री इश्वरबहादुर खड्काले श्रीमती पदमकुमारीको नाममा “पदमकुमारी स्मृति शैक्षिक पुरस्कार” कक्षा ४ मा अध्ययन गर्ने छात्राहरूमध्येबाट वार्षिक परीक्षामा सर्वाधिक अंक प्राप्त गरी उत्तीर्ण हुने छात्रालाई एकमुष्ट रु. ३,०००/- (तीन हजार) श्री देवीटार माध्यमिक विद्यालय लोटिङका छात्राले कक्षा-५ मा अध्ययन गर्दा प्राप्त गर्ने छन्।
श्री भैरवबहादुर खड्का, डा. कमल खड्का र इ. मनोज खड्काले आफ्नो माता डोलकुमारी र भाइ विनोद खड्काको नाममा “डोल-विनोद स्मृति छात्रवृत्ति” श्री गौरिशंकर माध्यमिक विद्यालय विगु र श्री थम्पु माध्यमिक विद्यालय आलम्पुमा कक्षा-५ मा प्रथम हुने छात्र वा छात्रालाई, “भीम-जनक स्मृति छात्रवृत्ति” श्री हिमालय माध्यमिक विद्यालय खोपाचागुमा श्री कल्याणध्वज खड्का, श्री शान्तध्वज खड्काले आफ्नो बोजु हेमकुमारी र बाजे कप्तान तथा बडाहाकिम डिल्लिध्वज खड्काको नाममा “हेम-डिल्ली स्मृति छात्रवृत्ति” श्री देवीटार माध्यमिक विद्यालयमा श्री कमल (कुमार) खड्काले माता नन्दादेवी र पिता केन्द्रबहादुर खड्काको नाममा “नन्दा-केन्द्र स्मृति छात्रवृत्ति” कक्षा ८ मा प्रथम हुने छात्रा वा छात्रालाई कक्षा ९ र १० मा, श्री प्रबिनकुमार खड्काले पिता दीपबहादुर खड्काको पुण्य स्मृतिमा “दीप स्मृति छात्रवृत्ति” कक्षा ६ मा प्रथम हुने छात्र वा छात्रालाई कक्षा ७ र ९ मा अध्ययन गर्दा, श्री हेमगजाधर खड्का, श्री नेत्रगजाधर खड्का, श्री फणेन्द्र गजाधर खड्का र श्री चित्र गजाधर खड्काले आफ्नो माता दीपकुमारी र पिता विष्णु गजाधर खड्काको नाममा “दीप-विष्णु छात्रवृत्ति” कक्षा-८ मा प्रथम हुने छात्र वा छात्रालाई कक्षा ९ र १० मा अध्ययन गर्दा, श्री भानुकुमार खड्काले आफ्नो छोरी सुमिदा खड्काको नाममा “सुमिदा-स्मृति छात्रवृत्ति” कक्षा-६ को अन्तिम वार्षिक परीक्षामा छात्रामध्येबाट सर्वाधिक अंक ल्याउने कक्षा ७ र ८ मा अध्ययन गर्दा, श्री ताराबहादुर खड्का, श्री हरिशरण खड्का र श्री शहदेव खड्का समेतले श्री शान्ति आदर्श माध्यमिक विद्यालय लादुकमा “सेठ भैरवसिंह स्मृति छात्रवृत्ति”, श्रीमती ज्योति (अमरकुमारी) खड्काले “इश्वर-मदन स्मृति छात्रवृत्ति” श्री हलेश्वर माध्यमिक विद्यालय सुरीमा कक्षा-८ मा प्रथम हुने छात्र वा छात्रालाई, श्री इश्वर खड्काले आफ्नो माता सीता खड्काको नाममा “सीता स्मृति छात्रवृत्ति” श्री विष्णुश्वरी आधारभूत विद्यालयमा कक्षा-३ मा प्रथम हुने छात्रालाई कक्षा ४ र ५ मा अध्ययन गर्दा, नेपाली सेनाका उपसेनानी (अ.प्रा.) श्री नविनबहादुर खड्का र श्रीमती उर्मिला खड्काले आफ्नो माता-पिता/सासू-ससुराको पुण्य स्मृतिमा श्री नीलकण्ठेश्वर माध्यमिक विद्यालय जुगुमा कक्षा-८ मा प्रथम हुने छात्र वा छात्रालाई कक्षा ९ र १० मा अध्ययन गर्दा, श्री हिमखण्डेश्वरी आधारभूत विद्यालय खार्तालमा श्री केशरकुमार खड्काले आफ्नो बाजे सुजानसिंह खड्का र बोजु कृष्णकुमारी, पर्वतकुमारीको नाममा “सुजान-कृष्ण-पर्वत स्मृति छात्रवृत्ति” कक्षा ५ को वार्षिक परीक्षामा सर्वाधिक अंक प्राप्त गरी कक्षा-५ मा प्रथम हुने छात्र वा छात्रालाई कक्षा ६ र ७ मा अध्ययन गर्दा, श्री हिमाली देवी आधारभूत विद्यालय स्याखुमा श्री केशरकुमार खड्काले आफ्नो माता लालकुमारी र पिता भूमिबहादुर खड्काको नाममा “लाल-भूमि स्मृति छात्रवृत्ति” कक्षा-३ मा प्रथम हुने छात्र वा छात्रालाई कक्षा ४ र ५ मा अध्ययन गर्दा, श्री इश्वर खड्का, श्री प्रबिनकुमार खड्का र श्री केशरकुमार खड्काले आफ्नो बाजे अमरबहादुर खड्का र बोजु सिद्धिकुमारीको नाममा “सिद्धि-अमर स्मृति छात्रवृत्ति” श्री थम्पु माध्यमिक विद्यालय आलम्पुमा कक्षा-६ मा प्रथम हुने छात्र वा छात्रालाई कक्षा ७ र ८ मा अध्ययन गर्दा दिने व्यवस्था गरेका छन्।
श्री होमबहादुर खड्का – चिलंखा लाइसेपले वि.सं. २०८३ बाट आफ्नो माता रत्नशोभा खड्का र पिता गजेन्द्रबहादुर खड्काको नाममा “रत्नशोभा-गजेन्द्र स्मृति छात्रवृत्ति” कालिञ्चोक गाउँपालिका-२ निकोभुमीमा रहेको श्री निकोभुमी माध्यमिक विद्यालय मा कक्षा-८ मा अध्ययन गर्ने छात्र वा छात्रामध्ये वार्षिक परीक्षामा सर्वाधिक अंक ल्याई प्रथम हुने विद्यार्थीलाई कक्षा ९ र १० मा अध्ययन गर्दा वार्षिक एकमुष्ट रु. ६,०००/- का दरले दिन रु. १,५१,०००/- (अक्षरूपी एक लाख एकाउन्न हजार रुपैयाँ) चिलंखा खड्का अचल सन्तती समाजको छात्रवृत्ति कोषको बैंक खातामा जम्मा गर्नुभएको छ।
बैतेश्वर गाउँपालिका-८ क्षेत्रपाको क्षेत्रावती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ताराकुमार खड्काले अध्ययनरत कक्षामा प्रथम हुने छात्र तथा छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्न रु. ५ लाख सम्बन्धित विद्यालयको छात्रवृत्ति कोषमा जम्मा गर्नुभएको छ। साथै विद्यार्थीहरूलाई पुस्तक बोक्न ब्याग र लगाउन ट्र्याकसुट पनि वितरण गर्नुभएको छ।
श्री वेदबहादुर खड्का, इ. नुतन खड्का र इ. दीपक खड्काले आफ्नो माता स्व. नरेन्द्रकुमारी खड्काको नाममा विगु गाउँपालिका-८ को श्री हिमालय माध्यमिक विद्यालय ब्याडचौर चागु, श्री कालिञ्चोक माध्यमिक विद्यालय थामिचागु मा कक्षा १ देखि १० सम्म र श्री जमुना आधारभूत विद्यालय खोपामा कक्षा १ देखि ३ सम्म प्रथम हुने छात्र वा छात्रालाई रु. १,०००/- को दरले छात्रवृत्ति प्रदान गर्ने गरिएको छ। सोका लागि रु. ४,००,०००/- (अक्षरूपी चार लाख रुपैयाँ) बैंकको मुद्दती खातामा छात्रवृत्ति कोषमा जम्मा गरेर राखिएको छ। उक्त छात्रवृत्ति रकम प्रदान गर्दा वार्षिक रूपमा एकमुष्ट प्रदान गर्ने गरिएको छ।
सरस्वती आधारभूत विद्यालय च्यार्सापा (हाल हिमालय माध्यमिक विद्यालयमा मर्ज) मा श्री कुन्दन खड्का, श्री देवीटार माध्यमिक विद्यालय लोटिङमा श्री केशरकुमार खड्का र श्री भीमसेन खड्काले ट्र्याकसुट विद्यार्थीहरूलाई वितरण गर्नुभएको थियो।
वि.सं. २०७२ वैशाखको भूकम्पपछि पुनर्निर्माण गरिएका सुविधासम्पन्न विद्यालयका भवनहरू छन् तर मानिसहरूको बसाइँसराइ र रोजगारीका लागि विदेश लाग्नुले गर्दा विद्यार्थीको संख्या भने दिनप्रतिदिन घटिरहेको छ।









