
कोहलपुर वैशाख २४- कोहलपुर गोल्डकप अन्तर्गत जारी प्रतियोगितामा सहभागी नाइजेरियन टोली जस्ट जोन एफसी वर्क परमिट सम्बन्धी समस्याका कारण प्रतियोगिताबाट बाहिरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले ‘वर्क परमिट’ नलिएका विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएपछि आज हुने दोस्रो सेमिफाइनल खेलको समीकरण परिवर्तन भएको हो । लिग चरणका खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको जस्ट जोन एफसी (नाइजेरिया) प्रशासनको निर्देशनपछि प्रतियोगिताबाट बाहिरिएको आयोजकले जनाएको छ ।
अब जस्ट जोन एफसीको स्थानमा रोयल फुटबल क्लब ले प्रतिस्पर्धा गर्ने भएको छ । आज हुने दोस्रो सेमिफाइनलमा रोयल फुटबल क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
यता आयोजक क्लबका अध्यक्ष चक्र चिम्ला क्षेत्रीले प्रशासनको पत्रप्रति सम्मान जनाउँदै प्रतियोगिता सञ्चालनका क्रममा कानुनी प्रक्रियालाई पूर्ण रूपमा पालना गर्ने बताएका छन्। उनले सेमिफाइनल चरणमा पुगेपछि विदेशी खेलाडीहरूको सहभागितालाई लिएर अन्योल सिर्जना भएको स्वीकार गर्दै नाइजेरियन खेलाडीहरूलाई मैदानमा उतार्न नपाइने अवस्था आएको बताए।
खेलको अन्तिम समयमा जिल्ला प्रशासन कार्यालयबाट आएको पत्रले आयोजक पक्षलाई निकै चिन्तित बनाएको समेत उनले बताए। “यस्तो महत्वपूर्ण चरणमा आएको पत्रले हामीलाई थप दबाबमा पारेको छ,” अध्यक्ष क्षेत्रीले भने, “हामीले खेलको स्तर उकास्न र दर्शकलाई उत्कृष्ट प्रतिस्पर्धा दिन विदेशी खेलाडी समावेश गरेका हौं। अहिले प्रशासनबाट आएको पत्रपछि आवश्यक कागजात र प्रक्रियाबारे थप छलफल गरिरहेका छौं।”
उनले प्रतियोगिता सफल बनाउने नै आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गर्दै कुनै पनि हालतमा कानुन विपरीत जाने काम नगर्ने स्पष्ट पारे। “सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्छौं,” उनले भने।अध्यक्ष क्षेत्रीले प्रतियोगिताको प्रतिष्ठा जोगाउँदै खेलाडी, दर्शक र आयोजक सबै पक्षलाई असर नपर्ने गरी समाधान खोजिने समेत बताए।
प्रतियोगितामा विदेशी खेलाडीको सहभागितासम्बन्धी कानुनी प्रक्रिया र श्रम स्वीकृतिको विषयलाई लिएर यो निर्णय गरिएको प्रशासनले जनाएको छ । यस घटनापछि प्रतियोगिताको व्यवस्थापन र विदेशी खेलाडी सहभागिताबारे थप बहस सुरु भएको छ ।





