ट्रेण्डिङ

प्रथम विश्वयुद्ध (वि.सं. १९७१–१९७५)

वि.सं. १९७१ असार महिनामा अस्ट्रियाको राजकुमारको हत्या भएपछि सुरु भएको अस्ट्रिया-सर्बिया युद्धलाई एक महिनापछि जर्मनीले रूस र फ्रान्सविरुद्ध तथा बेलायतले जर्मनीविरुद्ध युद्धको घोषणा गरेपछि प्रथम विश्वयुद्ध सुरु भएको थियो। यस युद्धमा साना ठूला धेरै राष्ट्रहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी भएका थिए।

अंग्रेज सरकार युद्धमा सामेल भएपछि भारतका जनरलले नेपाल सरकारलाई करिब १४ हजार सेना तयार पार्न अनुरोध गरे। सोहीअनुसार नेपाल जस्तो सानो तथा भूपरिबेष्ठित देशले पनि यस युद्धमा सहयोग गरेको थियो। तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर ज.ब.रा. लगायत अन्य राणाहरू आफ्नो पारिवारिक शासन सुदृढ गर्न जसरी पनि अंग्रेजहरूलाई सहयोग गरी आफ्नो स्वार्थ पूरा गर्न चाहन्थे। त्यसैले नेपाल सरकारले तालिमप्राप्त सेनाहरू पटक-पटक काकुल (Dehradun) पठाएको थियो।

यसै क्रममा दोलखा जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने र नेपाली सेनामा नोकरी गर्ने अचल खड्काका सन्ततीहरू पनि प्रथम विश्वयुद्धमा सहभागी भएका थिए।

१) कप्तान डिल्लीध्वज खड्का
चागु, हवल्दार करबीर खड्का र श्रीमती राजकुमारी खड्काको सुपुत्रको रूपमा वि.सं. १९४५ मा दोलखा खोपाचागुको “चागुघर” मा जन्मनुभएका डिल्लीध्वज खड्का नेपाली सेनामा सुबेदार पदबाट सेवा सुरु गर्नुभई प्रथम विश्वयुद्ध (वि.सं. १९७१–१९७५) मा महिन्द्र दल नया गोरख गण बाट भाग लिनुभएको थियो।

दक्षिण वजिरिस्तानमा मुसुद नामको जातिको बसोबास थियो। अंग्रेज सरकारले उत्तर-पश्चिम प्रदेश स्थापना गरी मुसुद बस्ने क्षेत्रलाई समेत समावेश गरेपछि समस्या उग्र रूपमा बढेको थियो। अंग्रेज सरकार प्रथम विश्वयुद्धमा अलमलिएको मौका छोपेर मुसुदहरूले वि.सं. १९७३ बाट अंग्रेज सरकारविरुद्ध सशस्त्र संघर्ष सुरु गरे। अंग्रेज सरकारले मुसुदहरूलाई दबाउन नेपाली सेनाको राइफल र महिन्द्र दलको प्रयोग गर्‍यो। वि.सं. १९७४ असार, श्रावण र भाद्र महिनामा मुसुदहरूसँग युद्ध गरी नेपाली सेनाले उक्त क्षेत्र पूर्ण रूपमा अंग्रेज नियन्त्रणमा ल्याएको थियो।

उक्त वजिरिस्तान युद्धमा सुबेदार डिल्लीध्वज खड्काले बहादुरी प्रदर्शन गर्नुभएको थियो। वि.सं. १९७५ मा प्रथम विश्वयुद्ध समाप्त भएपछि स्वदेश फर्केर नेपाली सेनामा लेफ्टिनेन्ट हुँदै ३ वर्षपछि कप्तान हुनुभयो। उहाँलाई “मान्य नेपाल तारा” लगायत विभिन्न पदकहरूबाट विभूषित गरियो। उहाँ स्याङ्जा, प्युठान र नुवाकोटको बडाहाकिम हुनुभयो।

उहाँले प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर राणाका हजुरिया कर्णेल दलबहादुर बस्नेत (मकैबारी, दोलखा) की सुपुत्री हेमकुमारी बस्नेतसँग विवाह गर्नुभएको थियो। वि.सं. २०१२ मा खोपाचागुको “चागुघर” मा निधन हुनुभयो।

२) लेफ्टिनेन्ट हरिबहादुर खड्का
खोपा, पिता सुजानसिंह खड्का तथा माता श्रीमती पर्वतकुमारी खड्काको सुपुत्रको रूपमा वि.सं. १९५२ मा चिलंखामा जन्मनुभएका हरिबहादुर खड्का नेपाली सेनामा सुबेदार पदबाट नोकरी सुरु गर्नुभयो। प्रथम विश्वयुद्ध (वि.सं. १९७१–१९७५) मा शमशेर दल जबरजंग पल्टन बाट काकुलमा खटिनुभएको थियो।

युद्ध समाप्तिपछि नेपाल फर्केर लेफ्टिनेन्ट पदमा पदोन्नति हुँदै विभिन्न पदकबाट विभूषित हुनुभयो। पिता सुजानसिंह खड्काको वि.सं. १९७९ मा मृत्यु भएपछि एक वर्षे वार्षिक शुद्धोशान्ति सकेर जन्मस्थानबाट काठमाडौं आएर आफ्नो पल्टनमा हाजिर हुनुभयो। केही दिनपछि हेटौंडा काजमा खटिई गएको अवस्थामा वि.सं. १९८१ मा निधन हुनुभयो।

उहाँले प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर ज.ब.रा. का हजुरिया कर्णेल दलबहादुर बस्नेतकी सुपुत्री दुर्गाकुमारी बस्नेतसँग विवाह गर्नुभएको थियो।
द्वितीय विश्वयुद्ध (वि.सं. १९९६–२००२)

वि.सं. १९९६ भाद्र महिनामा हिटलरले पोल्यान्डमाथि आक्रमण गरेपछि बेलायत र फ्रान्सले जर्मनीविरुद्ध युद्ध घोषणा गरे। वि.सं. १९९८ मा जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गरेपछि अमेरिका पनि युद्धमा सामेल भयो।

नेपालले अंग्रेज सरकारलाई सहयोग गर्ने नीति अनुरूप द्वितीय विश्वयुद्धमा पनि आर्थिक सहयोग, गोरखा रेजिमेन्टमा भर्ती र हजारौं तालिमप्राप्त नेपाली सेना पठाएर सहयोग गरेको थियो। यसै क्रममा चिलंखे खड्का अचल सन्ततीहरूले पनि नेपाली सेना र ब्रिटिश गोरखा रेजिमेन्ट मार्फत युद्धमा भाग लिए।
१) हवल्दार दीपबहादुर खड्का
लोटिङ्ग, पिता हवल्दार अम्मरबहादुर खड्का तथा माता श्रीमती सिद्धिकुमारी खड्काको जेठो सुपुत्रको रूपमा वि.सं. १९६९ वैशाखमा जन्मनुभएका दीपबहादुर खड्का नेपाली सेनामा आवद्ध भई द्वितीय विश्वयुद्ध (वि.सं. १९९६–२००२) मा भाग लिनुभयो। उहाँ महिन्द्र दल बाट सहभागी भई देहरादुन हुँदै बर्मासम्म पुग्नुभएको थियो। युद्ध समाप्तिपछि नेपाल फर्केर हवल्दार पदमा पदोन्नति हुनुभयो।

वि.सं. २००४ मा भारत स्वतन्त्र भएपछि भारत र पाकिस्तान विभाजन भयो। दुई देशबीच द्वन्द्व बढेपछि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलाई शान्ति सुरक्षा कायम गर्न नेपाली सेना पठाइदिन अनुरोध गरे। सोहीअनुसार महिन्द्र दल खटिँदा हवल्दार दीपबहादुर खड्का पनि सहभागी हुनुभयो। सफलतापूर्वक कर्तव्य पूरा गरी नेपाल फर्कनुभयो र विभिन्न पदक प्राप्त गर्नुभयो। वि.सं. २०४५ मा निधन हुनुभयो।

२) सेनानी (मेजर) मदनबहादुर खड्का
चिलंखा, पिता डम्बरबहादुर खड्का तथा माता श्रीमती गम्भीरकुमारी खड्काको जेठो सुपुत्रको रूपमा वि.सं. १९७० मा चिलंखामा जन्मनुभएका मदनबहादुर खड्का नेपाली सेनामा आवद्ध भई द्वितीय विश्वयुद्धमा भाग लिनुभयो। देहरादुनमा रहनुभएको उहाँ युद्धपछि नेपाल फर्केर सेनानी (मेजर) सम्म पदोन्नति हुनुभयो।

उहाँले त्रिशक्ति पट्ट, सुप्रबल गोरखा दक्षिण बाहु लगायत विभिन्न विभूषण प्राप्त गर्नुभयो। वि.सं. २०४५ मा निधन हुनुभयो।

३) हवल्दार सेरबहादुर खड्का बुलुङ्ग चाम्बोटे, पिता वीरबहादुर खड्का तथा माता श्रीमती पूर्णकुमारी खड्काको सुपुत्रको रूपमा वि.सं. १९७५ मा जन्मनुभएका सेरबहादुर खड्का १९ वर्षको उमेरमा नेपाली सेनामा भर्ती हुनुभयो। द्वितीय विश्वयुद्ध सुरु भएपछि कालिबहादुर पल्टन बाट बर्मामा खटिनुभयो।

बर्मामा जापानी सेनासँग लडाइँमा कुशलतापूर्वक बहादुरी देखाउनुभयो र विभिन्न पदक प्राप्त गर्नुभयो। वि.सं. २००२ मा युद्ध समाप्तिपछि नेपाल फर्कनुभयो। वि.सं. २०३७ मा निधन हुनुभयो।

ब्रिटिश गोरखा रेजिमेन्ट मार्फत सहभागी

१) सुबेदार ललितबहादुर खड्का
लादुक, पिता पिताभक्त खड्का तथा माता श्रीमती गम्भीरकुमारी खड्काको सुपुत्रको रूपमा वि.सं. १९७८ मा जन्मनुभएका ललितबहादुर खड्का ब्रिटिश गोरखा रेजिमेन्टमा भर्ती भई द्वितीय विश्वयुद्धमा बर्मा र सिंगापुरमा लड्नुभयो।

भारत स्वतन्त्र भएपछि भारत-पाकिस्तान द्वन्द्वमा पनि भारत पक्षबाट सहभागी हुनुभयो। विभिन्न पदक प्राप्त गर्नुभयो। सुबेदार पदबाट भारतीय सेनाबाट पेन्सन लिएर नेपाल फर्की लादुकमा बसोबास गर्नुभयो। वि.सं. २०६८ मा निधन हुनुभयो।

अन्तमा:
अचल खड्काका ठहिला सुपुत्र सुबेदार केहरसिंह खड्का, सुबेदार छत्रसिंह खड्काका सुपुत्र हवल्दार करबीर खड्का र सुबेदार नैनसिंह खड्काका सुपुत्र जमदार भक्तबीर खड्का (जन्म वि.सं. १८९०) ले नेपाल-भोट (तिब्बत) युद्ध (वि.सं. १९११–१२) मा दोलखा लामाबगरको “थोबो डाँडा” मा सफलतापूर्वक भाग लिनुभएको थियो।

सन् १८५७ को सिपाही विद्रोह (लखनउ) मा शान्ति सुरक्षा कायम गर्न खटिँदा सुबेदार केहरसिंह खड्काले वीरगति प्राप्त गर्नुभयो।

हाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेनामार्फत चिलंखे अचल सन्ततीहरू हाइटी, लेबनान, इराक लगायत विभिन्न देशमा खटिएर कुशलतापूर्वक आफ्नो कर्तव्य पूरा गरी विभिन्न विभूषण प्राप्त गर्नुभएको छ।

स्रोत:
१) चिलंखे खड्का : एक छोटो चिनारी – २०६३ (दोस्रो संस्करण), श्री चन्द्रबहादुर खड्का
२) शाही नेपाली सेनाको इतिहास – २०४१, टेकबहादुर खत्री
३) हवल्दार दीपबहादुर खड्कासँग वि.सं. २०४३ मा भएको कुराकानी, लोटिङ्ग, दोलखा
४) श्री गोपाल खड्का, लादुक, दोलखा (हाल रोमानिया)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय