कोहलपुर, भदौ २१ – नेपाल पूर्व सशस्त्र प्रहरी बल जिल्ला संघ बाँकेको तेस्रो अधिवेशनले हरि पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको हकहित, आपसी एकता तथा सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनले संघको नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनमा सहभागी पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अवकाशप्राप्त कर्मचारीका समस्या तथा आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।
अधिवेशनबाट संघको उपाध्यक्षमा प्रेमबहादुर भण्डारी, सचिवमा दुर्गाबहादुर खड्का, सह–सचिवमा वेदबहादुर विष्ट, कोषाध्यक्षमा लोकबहादुर खत्री र सह–कोषाध्यक्षमा रतनबहादुर वि.क. सर्वसम्मत रूपमा चयन भएका छन् भने
कार्यसमिति सदस्यहरूमा वीरबहादुर खड्का, पदम गुरुङ, नन्दलाल बुढा, लोकबहादुर खड्का र अर्जुनप्रसाद गुप्ता चयन भएका छन् । भोला प्रसाद वि.क. र चोक वीर वि.क. लाई सदस्य पदमा मनोनित गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष हरि पराजुलीले संघलाई सबै पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूको साझा संस्था बनाउँदै आपसी एकता, सहकार्य र भाइचारालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले अवकाशपछि पनि संगठनप्रतिको जिम्मेवारी र सामाजिक दायित्वलाई निरन्तरता दिँदै पूर्व सशस्त्र प्रहरी कर्मचारीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्ने बताए ।
अध्यक्ष पराजुलीले नयाँ कार्यसमितिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितलाई प्राथमिकता दिने बताउँदै सबै सदस्यको सुझाव र सहयोगका आधारमा संघलाई थप सक्रिय र प्रभावकारी बनाउने उल्लेख गरे ।
उनले पूर्व सशस्त्र प्रहरी कर्मचारीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सामाजिक तथा मानवीय कार्यमा समेत संघको भूमिका बढाउने प्रतिबद्धता जनाए । संघले आगामी दिनमा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको अनुभव, सीप र योगदानलाई सामाजिक क्षेत्रमा उपयोग गर्दै विभिन्न रचनात्मक तथा सेवामूलक गतिविधिलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।
नयाँ कार्यसमिति चयनसँगै संघको नेतृत्वले पूर्व सशस्त्र प्रहरी कर्मचारीबीचको एकता र सहकार्यलाई थप बलियो बनाउँदै उनीहरूको हकहित र सामाजिक भूमिकालाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ ।





