
बाँके । बाँकेको बैजनाथ गाउँपालिका-२ डिगियास्थित दीप ज्योति विद्या निकेतनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि १ लाख २ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयले विपद्को समयमा पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट संकलन गरेको रकमसँगै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग जुटाएको जानकारी दिएको छ ।
विद्यालयका संस्थापक तथा सञ्चालक लक्ष्मण सिंहले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन) बाँकेलाई चेक हस्तान्तरण गरिएको जानकारी दिए ।
प्याब्सन बाँकेमार्फत जिल्लाका विभिन्न विद्यालयबाट संकलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उनको भनाइ छ।
बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सेवामा विद्यालयको तर्फबाट योगदान गर्न पाउनु गौरवको विषय भएको सिंहले जानकारी दिए ।





