कोहलपुर । भरैया–सिम्रहवा रोहिणी खोला जोड्ने निर्माणाधीन पुलको माननीय सुरेश कुमार चौधरीले स्थलगत अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा चौधरीले पुल निर्माणको अवस्था, हालसम्म भएको प्रगति तथा स्थानीयवासीले भोग्दै आएका समस्या र कठिनाइका विषयमा जानकारी लिनुभएको थियो।
भरैया–सिम्रहवा जोड्ने उक्त पुल निर्माणका लागि यसअघि नै ९डीपीआर० निर्माण भइसके पनि निर्माण प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन। लामो समयदेखि पुल निर्माणको प्रक्रिया रोकिँदा स्थानीयवासीले आवतजावतमा समस्या भोग्दै आएका छन्।

पुल निर्माण सम्पन्न भएपछि भरैया र सिम्रहवा क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता हुनुका साथै कृषि उपजको ओसारपसार, व्यापार व्यवसाय तथा स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने राष्टिय स्वतन्त्र पार्टीको नगर सभापति राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

अनुगमनका क्रममा स्थानीयवासीले पुल निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउन तथा निर्माण कार्यलाई समयमै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। स्थानीयका समस्या र मागबारे जानकारी लिँदै चौधरीले पुल निर्माणका लागि आवश्यक पहल तथा सम्बन्धित निकायसँग समन्वय गर्ने बताउनुभएको थियो।

स्थानीयवासीले लामो समयदेखि पुल निर्माणको माग गर्दै आए पनि डीपीआर तयार भइसकेपछि पनि निर्माण प्रक्रिया अगाडि नबढेकाले पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्।
रोहिणी खोलामाथि पुल निर्माण भएपछि यस क्षेत्रका नागरिकको वर्षौंदेखिको आवतजावतको समस्या समाधान हुनुका साथै भरैया–सिम्रहवा क्षेत्रबीचको यातायात सम्पर्क थप सहज हुने विश्वास गरिएको छ।





