ट्रेण्डिङ

नेपालमा पहुँचयुक्त (Accessible) र अपाङ्गतामैत्री (Disability-friendly) अवधारणाहरूको बुझाई र अभ्यास पछिल्ला वर्षहरूमा विस्तार हुँदै गएको छ । तर अझै पूर्ण रूपमा लागू भइसकेको अवस्था भने छैन। यी अवधारणाहरू मुख्यतः सरकारी नीति, पूर्वाधार विकास, शिक्षा र सार्वजनिक सेवा क्षेत्रहरूमा लागू गर्ने प्रयास गरिदै आएको छ। नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न केही कानुन र नीतिहरू बनेका छन्। नेपालको संविधान २०७२को धारा ४२(३) ले “अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवन यापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ” भनि सो हकलाई सुनिश्चित गरेको छ । त्यस्तैगरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका आदि कार्यान्वयन भईरहेका छन्। साथै संयुक्त राष्ट्रसंघको “अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी (Convention on the Rights of Person with Disabilities-CRPD) २००६” ले अपाङ्गता भएका व्यक्तिहरूले अरू मानिससरह स्वतन्त्र र सम्मानजनक जीवन जिउन सबै ठाउँ र सेवाहरूमा सजिलै पहुँच पाउनु पर्ने प्रावधान पारित गरेको छ । यी राष्ट्रीय तथा अन्तराष्ट्रीय नीति तथा कानूनहरूले सबै संरचना र सेवामा सबैको समान पहुँच हुनु पर्ने सम्बन्धि कानूनी आधारहरू तयार गरेको छ। विशेष गरी “अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६” कार्यान्वयनमा आएसंगै पहुँचयुक्त अवधारणालाई विश्वभर र नेपालमा समेत जोड दिदै आएको पाईन्छ । नेपालमा केही क्षेत्रमा अपाङ्गतामैत्री संरचना बनाउने काम भइरहेको छ । सरकारी कार्यालय, अस्पताल र विद्यालयहरूमा र्याम्प (Ramp) बनाउने, केही नयाँ भवनमा लिफ्टको व्यवस्था, बाटो र सार्वजनिक स्थानमा ह्विलचेयर प्रयोग गर्न मिल्ने डिजाइन, केही ठाउँमा ब्रेल संकेत (Braille signage) राख्ने प्रयास, समावेशी शिक्षा (Inclusive Education) लागू गर्ने प्रयास, दृष्टिविहीन र श्रवण अपाङ्गता भएका विद्यार्थीका लागि विशेष कक्षा, केही विद्यालयमा स्रोत कक्षा (Resource Class) सञ्चालन, बैंक, अस्पताल, होटल, सुपर मार्केट, पार्टी प्यालेस, सरकारी सेवा केन्द्रमा अपाङ्गतामैत्री सेवा विस्तार, सहायता कक्ष, बस र सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिका लागि छुट सुविधा (केही मात्रामा), सहायक कर्मचारीमार्फत सेवा दिने व्यवस्था जस्ता कार्यहरू भईरहेको पाइन्छ ।
हाम्रो समाजमा पहुँचयुक्तता (Accessibility) को अभ्यास र प्रयोग विस्तार हुँदै गए पनि धेरै चुनौतीहरू अझै कायम छन्। यी समस्याहरू संरचना, नीति कार्यान्वयन, चेतना र स्रोतसँग सम्बन्धित छन्। धेरै सरकारी तथा निजी भवनहरू पुराना छन् र पहुँचयुक्त डिजाइनमा बनेका छैनन्। र्याम्प, लिफ्ट, चौडा ढोका जस्ता आधारभूत सुविधाहरूको अभाव छ। सडक, फुटपाथ र सार्वजनिक स्थानहरू असमान, भत्किएका वा अवरोधयुक्त छन्। पहुँचयुक्तता सम्बन्धी कानुन र मापदण्ड भए पनि प्रभावकारी रूपमा लागू भएका छैनन्। अनुगमन (monitoring) र कारबाहीको व्यवस्था कमजोर छ। पहुँचयुक्त संरचना बनाउन थप लागत लाग्ने भएकाले धेरै संस्थाले प्राथमिकता दिँदैनन्। स्थानीय तहमा बजेटको कमीका कारण सुधार ढिलो हुन्छ। धेरै मानिसलाई पहुँचयुक्तताको महत्वबारे पर्याप्त जानकारी छैन। अझै पनि अपाङ्गता सम्बन्धी पुरानो सोच र विभेद देखिन्छ। गाउँघरमा पहुँचयुक्त पूर्वाधार झनै कम छ। स्वास्थ्य, शिक्षा र यातायात सेवामा पहुँच सीमित छ। सार्वजनिक यातायातका अधिकांश बस, माइक्रोबस आदि ह्विलचेयरमैत्री छैनन्। चढ्ने–ओर्लने व्यवस्था असुरक्षित र असहज छ। त्यसैगरि सूचना र सञ्चारका हिसाबले सबै सूचना ब्रेल, अडियो वा सजिलो भाषामा उपलब्ध हुँदैन। श्रवण वा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल पहुँच पनि अत्यन्त सीमित छ।
पहुँचयुक्त (Accessible) अवधारणा भनेको सबै व्यक्तिहरू, अपाङ्गता भएका, वृद्ध, बालबालिका वा अन्य सबै नागरिकले कुनै पनि बाधा तथा अवरोध बिना सेवा, सुविधा र वातावरण प्रयोग गर्न सक्ने व्यवस्था हो। सबै मानिसले सजिलै प्रयोग गर्न सक्ने संरचना, सेवा र सूचना प्रणाली हो। यसका मुख्य कुराहरू जस्तैःह्विलचेयर प्रयोगकर्ताले सजिलै हिँड्न सक्ने बाटो हुनु, लिफ्ट, र्याम्प र चौडा ढोका हुनु, सूचना सबैले बुझ्न सक्ने (साइन बोर्ड, ब्रेल, अडियो) हुनु आदि हुन् । यसको मुख्य उद्देश्य भनेको सबैलाई समान पहुँच दिनु हो । त्यस्तै, अपाङ्गतामैत्री (Disability-friendly) अवधारणा भनेको अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष रूपमा ध्यान दिएर बनाइएको वातावरण वा संरचना हो, जसले उनीहरूको दैनिक जीवन सजिलो बनाउँछ। यसको उदाहरणका रूपमा जस्तैःह्विलचेयरमैत्री भवन र बाटो, दृष्टिविहीनका लागि ब्रेल लेखाइ, श्रवण अपाङ्गता भएका लागि संकेत भाषा सेवा, विशेष शौचालय सुविधा र सहायक उपकरण प्रयोग गर्न मिल्ने वातावरणलाइ लिन सकिन्छ । यसको मुख्य उद्देश्य भनेको अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउनु हो ।
“अपाङ्गतामैत्री” भन्दा “पहुँचयुक्त (Accessible)” भन्नु र यसलाई बुझ्नु किन आवश्यक छ ? भन्ने कुरा भाषा, सोच र सामाजिक दृष्टिकोणसँग जोडिएको विषय हो। मुख्य गरी “अपाङ्गतामैत्री” भन्दा “पहुँचयुक्त” भन्नु उपयुक्त हुन्छ । जसले समावेशी अर्थ दिने, अपमानजनक वा सिमित अर्थ कम हुने, अन्तराष्ट्रिय प्रयोगसंग मिल्ने, मानव अधिकार दृष्टिकोणबाट हेर्न मिल्ने र वास्तविक उद्देश्य स्पष्ट पार्ने भएकाले ”पहुँचयुक्त” शब्दावलीको प्रयोग र अभ्यास गर्नु आवश्यक छ । “अपाङ्गतामैत्री” शब्दले मुख्य ध्यान केवल अपाङ्गता भएका व्यक्तिमा मात्र केन्द्रित गर्छ। तर“पहुँचयुक्त” शब्दले सबै मानिस (अपाङ्गता भएका, वृद्ध, बालबालिका, गर्भवती आदि) लाई समेट्छ। यसैले यो बढी समावेशी (inclusive) हुन्छ। “अपाङ्गतामैत्री” कहिलेकाहीँ यस्तो अर्थ दिन सक्छ कि संरचना केवल “अपाङ्गता भएका व्यक्तिका लागि मात्र” हो। तर वास्तविक उद्देश्य भनेको सबैका लागि सहज बनाउनु हो। “पहुँचयुक्त” शब्दले यस्तो सीमितता हटाउँछ। त्यसै गरी विश्वका धेरै नीति र मापदण्डमा “Accessibility” (पहुँचयोग्यता) शब्द प्रयोग गरिन्छ। त्यसैले “पहुँचयुक्त” शब्द अन्तर्राष्ट्रिय रूपमा पनि मान्य र प्रचलित छ। आजको सोच अनुसार अपाङ्गता कुनै अलग वर्ग होइन, बरु मानव विविधताको हिस्सा हो। त्यसैले संरचना सबैका लागि समान हुनुपर्छ। “पहुँचयुक्त” शब्दले समान अधिकार र सम्मानलाई राम्रोसँग देखाउँछ। यसको मुख्य लक्ष्य बाधा हटाउने भएकाले सबैलाई सहज पहुँच दिने “पहुँचयुक्त” शब्दले यही उद्देश्य स्पष्ट रूपमा व्यक्त गर्छ। “अपाङ्गतामैत्री” भन्दा “पहुँचयुक्त” भन्नु उपयुक्त हुन्छ किनकि यो बढी समावेशी, सम्मानजनक, अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य र मानव अधिकारमैत्री अवधारणा हो।
तर हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टीकोण धेरै नकारात्मक छ । उनीहरूलाई काम नगाग्ने, केही गर्न नसक्ने, बोझको भारी, पाप वा श्राप लागेको, अभागी, विचरा र मागी खानु पर्ने जात भनेर बुझ्ने, अनि हेला , घृणा र व्यवास्ता गर्ने गरेको पाइन्छ। यस्ता खालको नकारात्मक धारणालाई हटाई अपाङ्ता भएका व्यक्तिहरू पनि केही गर्न सक्छन्, उनीहरूमा पनि इच्छा, चाहना र रहरहरू हुन्छन्, हामीले आवश्यक सहयोग, हौसला र पहुँचयुक्त वातावरण तयार गरी मद्दत गर्नु पर्छ भन्ने सकारात्मक धारणा विकास गर्न जरूरी हुन्छ। साथै अपाङ्गता भएका व्यक्तिका लागि केही दयाभाव राखी छुट्टै सेवा र सुविधा प्रदान गरि दिने भन्दा पनि अरू सरह समान रूपमा अथवा संगसंगै रहेर यथोचित काम गर्ने वातावरण र सम्मानित व्यवहारहरू प्रदर्शन गर्ने कुराले अपाङ्गता भएका व्यक्तिहरूको जीवन र उनीहरू प्रतिको नकारात्मक धारणा परिवर्तन गर्न सकिन्छ । यसर्थ, समाजमा अपाङ्गता भएका व्यक्तिलाई अरूसंगै समावेशी र सहभागीमुलक पद्धतिमा समाहित गर्नका लागि पहुँचयुक्त वातावरण हुनु अत्यन्त जरूरी छ । तर पहुँचयूक्त वातावरण निर्माणका लागि अनेकौ चुनौतीहरू छन् जुन कसैको एक्लो प्रयासले मात्र समाधान गर्न सकिदैनन् । ती चुनौतीहरू समाधान गर्न सरकार, जनसमुदाय र निजी क्षेत्र गरी हामी सबैको सक्रिय भूमिका आवश्यक छ, ताकि सबै नागरिकले समान रूपमा सेवा र अवसर प्राप्त गर्न सकून् र समाजमा परिवतर्नको अनुभूति गर्न सकून् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय