कोहलपुर, बाँके – अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोहलपुरमा आयोजना हुने चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता २०८३ सञ्चालनका लागि स्वीकृति प्रदान गरेको छ।
एन्फाले २०८२ चैत १० गते जारी गरेको पत्रमार्फत कोहलपुर रेसिङ सहारा क्लब, कोहलपुर–बाँके लाई उक्त प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएको हो। प्रतियोगिता २०८३ बैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमला क्षेत्री ले जानकारी दिएका छन्।
एन्फाका अनुसार प्रतियोगितामा सहभागी हुने टिम/क्लबहरू सम्बन्धित जिल्ला फुटबल संघमा दर्ता भएको हुनुपर्नेछ। साथै, प्रतियोगिताको नियमावली र खेल तालिका एन्फाबाट स्वीकृत गराएर मात्र खेल सञ्चालन गर्नुपर्नेछ।
प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक प्राविधिक जनशक्ति , रेफ्री, सहायक रेफ्री, फोर्थ अफिसियल, म्याच कमिस्नर लगायतको व्यवस्था गर्नुपर्नेछ।
विदेशी खेलाडीको सहभागिताको हकमा प्रचलित कानुनअनुसार वर्क परमिट तथा खेलाडी भिसा अनिवार्य हुने उल्लेख गरिएको छ। साथै, तोकिएको स्थान बाहेक अन्य स्थानमा प्रतियोगिता सञ्चालन गर्न एन्फाको छुट्टै स्वीकृति लिनुपर्नेछ।
एन्फाले प्रतियोगिता सम्पन्न भएको ७ दिनभित्र विस्तृत प्रतिवेदन पेश गर्नुपर्ने सर्त पनि राखेको छ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर ले हस्ताक्षर गरेको उक्त पत्रको बोधार्थ बाँके जिल्ला फुटबल संघलाई पनि दिइएको छ।
यस प्रतियोगिताले कोहलपुर क्षेत्रमा फुटबल खेलको विकास तथा खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





