मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मानसिक स्वास्थ्य प्राथमिक सहयोग (Mental Health First Aid-MHFA)सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा ट्रस्ट (RHEST) को सहकार्य तथा Stop Girl Trafficking (SCT) In Honor of Amar को सहयोगमा आयोजित उक्त प्रशिक्षणमा मानसिक स्वास्थ्य, मानसिक तनावको पहिचान तथा समस्यामा परेका व्यक्तिलाई गर्न सकिने प्राथमिक सहयोगका विषयमा प्रशिक्षण दिइएको थियो।
प्रशिक्षक तथा स्वास्थ्य विज्ञ डा। अरुणा उप्रेतीसहितको टोलीले सञ्चालन गरेको प्रशिक्षणमा मानसिक स्वास्थ्य र दैनिक जीवनबीचको सम्बन्ध, मानसिक स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान, तनाव तथा चिन्ताको पहिचान, आत्महत्याको जोखिमका संकेत तथा मानसिक समस्यामा परेका व्यक्तिसँग प्रभावकारी रूपमा संवाद गर्ने तरिकाबारे सहजीकरण गरिएको थियो।
आयोजकका अनुसार हालसम्म १८ जिल्लामा मानसिक स्वास्थ्य प्राथमिक सहयोगसम्बन्धी तालिम सञ्चालन गरिसकिएको छ। यस अवधिमा करिब ४ हजार जनालाई तालिम प्रदान गरिसकिएको जनाइएको छ। समुदायस्तरमै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्ने, समस्यामा परेका व्यक्तिलाई आवश्यक प्राथमिक सहयोग उपलब्ध गराउने र समयमै उचित सेवासम्म पहुँच पुर्याउने उद्देश्यले तालिम सञ्चालन हुँदै आएको छ।


प्रशिक्षणका क्रममा मानसिक स्वास्थ्यसम्बन्धी भ्रम र गलत धारणाको अन्त्य गर्दै समाजमा सकारात्मक वातावरण निर्माण गर्ने, समस्यामा परेका व्यक्तिको गोपनीयता कायम राख्ने तथा उनीहरूलाई आवश्यक परामर्श र सहयोगका लागि सम्बन्धित निकायसम्म पुर्याउने विषयमा समेत जानकारी दिइएको थियो।
कार्यक्रममा प्रशिक्षकहरूले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह महत्त्व दिनुपर्ने बताउँदै मानसिक समस्यामा परेका व्यक्तिलाई भेदभाव नगरी सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए। मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाएर राख्नुभन्दा समयमै पहिचान गरी उचित सहयोग र परामर्श उपलब्ध गराउनु आवश्यक रहेको उनीहरूको भनाइ थियो।

प्रशिक्षणमा सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्न, समस्यामा परेका व्यक्तिलाई प्राथमिक सहयोग गर्न तथा समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।
मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान र सीप समुदायस्तरसम्म विस्तार गर्दै समस्यामा परेका व्यक्तिलाई समयमै सहयोग उपलब्ध गराउने वातावरण निर्माण गर्न यस्ता प्रशिक्षण कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





