नेकपा एमालेले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद हारपछि नेता तथा कार्यकर्तामा छाएको निराशा र संगठनात्मक अराजकता चिर्न मंसिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेको छ ।
संगठनात्मक पुनर्संरचना, राजनीतिक कार्यदिशा र स्थानीय तह निर्वाचन तयारीलाई केन्द्रमा राख्दै आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको एमालेले जनाएको छ ।
भेलाको तयारीबारे छलफल गर्न शुक्रबार पार्टी कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितिमा राष्ट्रिय भेला व्यवस्थापन समितिको बैठक बसेको छ ।
दुईदिने भेलाको अगुवाइ एमाले संगठन विभागले गर्नेछ । एमाले सचिवसमेत रहेका संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
‘भेलाको तयारी लगभग अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘भेलामा करिब तीन हजारभन्दा बढी नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी हुनेछन् ।’
भेलाले पार्टीमा जागरण ल्याउने तथा नेता–कार्यकर्ताहरूमा उत्साह थपिने एमालेको विश्वास छ ।
ब्कष्बल एबष्लतक
‘यो भेलापछि नेकपा एमालेमा उत्साह पैदा हुन्छ, सांगठानिक काम गराइ र बुझाइमा पनि एकरूपता थपिन्छ भन्ने हाम्रो विश्वास छ’, सचिव ढकालले भने, ‘भेलापछि पार्टीको लोली र बोली एउटै हुन्छ ।’
यसका साथै आगामी स्थानीय तह निर्वाचन नजिकिँदै गएकाले स्थानीय तहमा पार्टीबाट निर्वाचित प्रमुखहरूलाई समेत भेलामा सहभागी गराएर पार्टीको ग्राउन्ड लेभलको अवस्था बुझ्न सहज हुने एमालेको भनाइ छ ।
दुईदिने भेलामा खासगरी गत केन्द्रीय कमिटी बैठकले अघि सारेका विभिन्न कार्यभारका बारेमा समेत छलफल हुने एमाले नेताहरूको भनाइ छ ।
गत असोज ५–८ मा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले आधारभूत वर्ग र समुदायसम्म संगठन विस्तार गर्ने, संगठनलाई योजनाबद्ध काम र मूल्यांकनमा आधारित बनाउने, युवा र महिलालाई पार्टीको जिम्मेवारी, निर्णय प्रक्रिया र नेतृत्वमा स्थापित गर्ने, पार्टी पुनर्जागरण गर्नेलगायत निर्णय गरेको थियो । उसले प्रतिपक्षको भूमिका, डिजिटल प्रतिवाद र निरन्तर संघर्षलाई आगामी कार्यभारका रूपमा अघि सारेको थियो ।
पार्टी पुनर्जागरणअन्तर्गत प्रत्येक कार्यकर्ताको आत्मविश्वास र जनसम्बन्ध बढाउने, प्रतिपक्षको भूमिकालाई नागरिक अधिकार र जनजीविकासँग जोड्ने एमालेको योजना छ । डिजिटल प्रतिवादलाई सत्यको विजय नभएसम्म निरन्तरता दिने र समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा नपुगेसम्म संघर्ष जारी राख्ने एमालेले भनेको छ ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि र विभिन्न तहमा निर्वाचित जनप्रतिनिधि गरी ३ हजार १६४ जना सहभागी हुने एमालेले जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भेलामा उनले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको राजनीतिक दृष्टिकोण र आगामी कार्यदिशालाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने कार्यक्रम तय भएको भेला व्यवस्थापन समितिका संयोजक ढकालले जानकारी दिए । उनका अनुसार वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेलालाई सम्बोधन गर्नेछिन् । त्यसबाहेक उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वमा बनेका सरकारले गरेका काम तथा उपलब्धिको चर्चा, महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र आगामी निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।
एमालेले भेलालाई पार्टीपंक्तिमा एकरूप बुझाइ विकास गर्ने, संगठनलाई सक्रिय बनाउने र पार्टी जीवनमा पुनर्ताजगी ल्याउने अवसरका रूपमा लिएको छ । भेलाले वडा तथा पालिका अधिवेशनलाई एकताबद्ध र व्यवस्थित रूपमा सम्पन्न गर्ने वातावरण निर्माण हुने एमालेको अपेक्षा छ ।
गत असोज २२ गते बसेको एमाले स्थायी कमिटीको प्रथम बैठकले वडा कमिटीको अधिवेशन मंसिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको थियो । पालिका र वडापछि एमालेले प्रदेश अधिवेशन गर्ने जनाएको छ ।





