काठमाडौं — नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले पार्टीलाई वैचारिक, सांगठनिक र कार्यशैलीका हिसाबले नयाँ ढंगबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन्। केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ढकालले पार्टीभित्रको संगठनात्मक अवस्था, कार्यकर्ता व्यवस्थापन, जनतासँगको सम्बन्ध र युवामाझ एमालेले अघि सार्नुपर्ने एजेन्डाबारे प्रश्न उठाएका हुन्।
बैठकका अध्यक्ष, मञ्चमा आसिन केन्द्रीय पदाधिकारी तथा सहयोद्धा कमरेडहरूलाई क्रान्तिकारी अभिवादन व्यक्त गर्दै उनले प्रस्तुत प्रतिवेदनमा अधिकांश विषय समेटिएको भन्दै पूर्ण समर्थन जनाए। तर, प्रतिवेदनलाई थप व्याख्या र व्यवहारिक योजनासहित अघि बढाउनुपर्ने उनको धारणा थियो।
ढकालले केन्द्रीय कमिटी बैठकबाट एमाले वैचारिक, सांगठनिक, कार्यशैली तथा मूल्यांकन र व्यवस्थापन विधिका हिसाबले नयाँ ढंगले प्रस्तुत हुनुपर्ने बताए। कार्यकर्ता र जनताले पनि पार्टीबाट यही अपेक्षा गरेको उनको भनाइ थियो।
उनले पार्टी अध्यक्षमाथि हुने प्रहारलाई एमालेमाथिको प्रहारका रूपमा बुझ्नुपर्ने धारणा राखे। एमालेमाथिको प्रहार राष्ट्रियता, लोकतन्त्र, कम्युनिष्ट आन्दोलन र जनताको जनजीविकासँग जोडिएको विषय भएकाले राष्ट्र र पार्टी संकटमा परेको बेला मूल नेतृत्वको संरक्षण गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।
पार्टीभित्र ‘कसैले कसैलाई नमान्ने प्रवृत्ति’ बढ्दै गएको भन्दै ढकालले यसलाई समयमै सम्बोधन गर्नुपर्ने बताए। उनले कार्यकर्ता व्यवस्थापनका लागि वैज्ञानिक विधि निर्माण, कमिटी प्रणालीलाई प्रभावकारी बनाउने तथा संगठित सदस्यको भूमिकालाई व्यवहारमै प्रभावकारी बनाउने विषयमा स्पष्ट योजना आवश्यक रहेको बताए।
त्यस्तै, आगामी दिनमा एमालेको सरकार बनेमा पार्टीले जनताका लागि के गर्ने भन्ने विषयमा पनि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने उनको भनाइ थियो। सामाजिक सञ्जालको बढ्दो प्रभावलाई राष्ट्र र पार्टीको हितमा कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि पार्टीले ठोस रणनीति बनाउनुपर्ने उनले बताए।
पार्टीभित्र एमाले समर्थक वा संगठित सदस्य भए पनि निर्वाचनमा पार्टीलाई मत नदिने प्रवृत्ति देखिएको उल्लेख गर्दै ढकालले यसको कारण पहिचान गरी समाधान खोज्नुपर्ने बताए।
‘हिजो हामी जनताका कुरा बोल्थ्यौँ, आज हामी हाम्रा कुरा बोलिरहेका छौँ’ भन्ने धारणा राख्दै उनले पार्टी र जनताबीचको सम्बन्धलाई पुनः बलियो बनाउनुपर्नेमा जोड दिए। जनतामाझ एमालेबारे विभिन्न न्यारेटिभ निर्माण भइरहेको भन्दै पार्टीले आफ्ना नीति, काम र व्यवहारमार्फत जनताको विश्वास पुनः मजबुत बनाउनुपर्ने उनको भनाइ थियो।
ढकालले पार्टीलाई अघि बढाउन सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण अपरिहार्य रहेको बताए। तर त्यसका लागि नेतृत्व र संगठनबीचको सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने उनले धारणा राखे।
उनले विगतका पुस्ताले निर्माण गरेका कार्यकर्ताको राजनीतिक प्रतिबद्धताको उदाहरण दिँदै भने, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीले निर्माण गरेका धेरै कार्यकर्ताले अहिले पनि एमालेलाई मत दिएका छन्। तर पछिल्लो पुस्ताका कार्यकर्तामध्ये ठूलो हिस्सा निर्वाचनमा पार्टीको पक्षमा नदेखिएको विषयलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
१० हजार युवामाझ पुग्ने कार्यक्रम बनाउन प्रस्ताव
ढकालले केन्द्रीय कमिटी बैठकबाटै कम्तीमा १० हजार युवामाझ पुग्ने कार्यक्रम निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारे। युवाहरूले नेपालको समाज, राजनीति र भविष्यलाई कसरी बुझिरहेका छन् भन्ने विषयमा पार्टीले प्रत्यक्ष संवाद गर्नुपर्ने उनको भनाइ थियो।





