रसुवाबाट पुनः बाढीपहिरो आएको सूचनापछि नारायणगढ–मुग्लिन सडक बन्द
रसुवाबाट पुनः बाढीपहिरो आएको सूचना प्राप्त भएपछि चितवन प्रहरीले नदी तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै नदीजन्य तटीय क्षेत्रका सम्पूर्ण बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।
प्रहरीका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन र काठमाडौं जाने तथा आउने सबै किसिमका सवारी साधनको आवागमन अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्णरूपमा बन्द गरिएको छ ।
प्रहरीले जोखिमयुक्त स्थानमा नबस्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न तथा आफ्नो र परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन अनुरोध गरेको छ ।
भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँमा शनिबार थप ५ वटा शव फेला परेका छन् । जिल्लाका विभिन्न नदी किनार क्षेत्रमा खोज तथा उद्धार कार्यको क्रममा देवघाट गाउँपालिका–५ बाट तीन र आँबुखैरेनी गाउँपालिका–४ बाट २ वटा शव फेला परेको प्रहरी नायब उपरीक्षक द्वरिकाप्रसाद घिमिरेले बताए । ५ वटै शवलाई प्रदेश अस्पताल दमौलीमा राखिएको छ । –





