भाद्र १३, २०८३
गत बुधबार रसुवामा आएको अचानकको प्रलयकारी बाढीलाई अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाल तीव्र गतिमा पग्लिरहेका छन् र यसले नेपालका हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम बढाएको छ।
यसपटकको बाढी ७ हजार २ सय ३४ मिटर उचाइको लाङटाङ लिरुङ हिमालबाट हिउँको ठूलो टुक्रा खसेर आएको हो। न्युजिल्यान्डको जीएनएस साइन्सका प्रमुख वैज्ञानिक साइमन कक्सले फ्रान्स २४ सँग भने, “यस हिमालको झन्डै ५ हजार २ सय मिटर उचाइबाट हिउँको एउटा ठूलो टुक्रा खसेर उपत्यकामा झर्यो। त्यसपछि तीव्र वेगमा ढुंगा, माटो र रुखहरू बगाउँदै तलतिर लाग्यो।”
सुरुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण हिउँ खसेको अनुमान लगाइएको थियो। तर युएस जियोलोजिकल सर्भेका अनुसार हिउँको टुक्रा झरेर तीव्र गतिमा बग्न थालेपछि उत्पन्न ऊर्जाले भूकम्प निम्त्याएको हुनसक्छ। वैज्ञानिकहरूले अझै अनुसन्धान जारी राखेका छन्।
बेलायती अन्टार्टिक सर्भेका ग्ल्याशियोलोजिस्ट डा. हमिस प्रितचार्डले बताए अनुसार हिउँको टुक्रा खस्नुभन्दा दुई दिनअघि लाङटाङ क्षेत्रको जमिनको तापक्रम विगत दुई वर्षयताकै उच्च अवस्थामा थियो। उनको टोलीले क्षेत्रबाट १० किलोमिटर पर सेन्सर राखेको छ। उच्च तापक्रमले हिमालको सतह कमजोर बनाएर हिउँ झरेको हुनसक्ने उनको अनुमान छ।
अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका प्राध्यापक डान म्याकग्राथले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिउँका ढिस्काहरू तीव्र रूपमा पग्लिरहेको बताए। साउथ फ्लोरिडा विश्वविद्यालयका प्राध्यापक जेसन गुलेले द न्युयोर्क टाइम्सको एक लेखमा लेखेका छन् कि नेपालका पग्लिरहेका हिमालहरूले टाइम बमजस्तै घातक चेतावनी दिइरहेका छन्। उनले विगत २० वर्षमा नेपालमा छ वटा अनुसन्धान अभियान सञ्चालन गरेका छन् र १९९० को दशकदेखि चीन–नेपाल सीमा क्षेत्रमा दर्जनौँ हिमाल समाप्त भइसकेको बताए।
इसिमोडले यसै वर्षको सुरुमा सार्वजनिक गरेको विश्लेषणमा हिन्द–कुश हिमालय क्षेत्रमा सन् २००० को तुलनामा दोब्बर हिउँ पग्लिरहेको उल्लेख छ। स्कटल्यान्डको डुन्डी विश्वविद्यालयका डा. सिमोन कुकले भारत, स्विट्जरल्यान्ड र इटालीमा पनि पछिल्ला वर्षहरूमा यस्तै घटना देखिएको बताए। सन् २०२१ मा भारतको चमोली उपत्यकामा हिउँको ढिस्का खस्दा आएको बाढीले करिब २०० जनाको ज्यान लिएको थियो। बीबीसीका अनुसार त्यस विध्वंसको प्रभाव १५ वटा एटम बम बराबर थियो।
अलास्का विश्वविद्यालयका प्राध्यापक इरान हुडले उच्च क्षेत्रको पहिरो र हिमपातले एकैपटक ठूलो परिमाणमा पानी उत्पन्न गराउने भएकाले यस्ता घटनाको पूर्वानुमान लगाउन कठिन हुने बताए। इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट र युएनडीपीको अध्ययन अनुसार नेपाल, भारत र तिब्बतमा ३ हजार ६ सय २४ वटा हिमताल छन्। तीमध्ये ४७ वटा जोखिमयुक्त छन् भने नेपालमा मात्र २१ वटा त्यस्ता ताल छन्।
कोलोराडो विश्वविद्यालयका हिमनदी प्रकोप विशेषज्ञ आल्टन बायर्सले जोखिमयुक्त क्षेत्रमा थप पूर्वाधार निर्माण नगर्न सुझाव दिए। उनले जापानको सुनामी चेतावनी प्रणालीलाई उदाहरण दिँदै प्रभावकारी पूर्वसूचना प्रणाली, उद्धार मार्ग र स्थानीयस्तरमा पर्याप्त जानकारी विस्तार गर्न जोड दिए। “जब विपत्ति आइपर्छ, बाँच्ने सम्भावना बढाउन त्यो जानकारी अति महत्त्वपूर्ण हुन्छ,” उनले भने।
उनले थपे, “प्रश्न अब यस्तो बाढी आउँछ वा आउँदैन भन्ने होइन, अर्को बाढी कहिले आउँछ भन्ने हो।” वैज्ञानिकहरूले जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट हुने कार्बन उत्सर्जन र तापक्रम वृद्धिलाई अब नजरअन्दाज गर्न नसकिने चेतावनी दिएका छन्।





