हालै बलात्कारपछि ज्यान गुमाएकी बालिका गरिमा चौधरीको सम्झनामा तथा उहाँको न्यायका लागि ऐक्यबद्धता जनाउँदै कोहलपुर नगरपालिकाको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले गरिमा चौधरीको घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको बताउँदै घटनामा संलग्न दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताउनुभयो। उहाँले पीडित परिवारलाई न्याय दिलाउन राज्यका सबै निकाय गम्भीर र जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
उपप्रमुख सुवेदीले बालबालिकाको सुरक्षा र अधिकार सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता जघन्य घटना दोहोरिन नदिन कानुनको प्रभावकारी कार्यान्वयनसँगै समाजमा सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले गरिमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्।





