कोहलपुर, बाँके / द्वन्द्वपीडितहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कोहलपुर नगरपालिका वडा नम्बर १३ मा आजदेखि ३ दिने तालिम सुरु गरिएको छ। सञ्चारिका समूह नेपाल, बाँके शाखाको आयोजनामा तथा कोहलपुर नगरपालिका वडा नम्बर १३ को आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो।
तालिममा स्थानीय द्वन्द्वपीडितहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। तालिममार्फत सहभागीहरूलाई नेतृत्व विकास, क्षमता अभिवृद्धि, आत्मविश्वास वृद्धि तथा सामाजिक सहभागिता सुदृढ गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
कार्यक्रमले द्वन्द्वपीडितहरूको सशक्तिकरणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर १३ का अध्यक्ष डम्बर बहादुर खड्काले यस्ता तालिमहरूले द्वन्द्वपीडितहरूको क्षमता अभिवृद्धि मात्र नभई उनीहरूलाई समाजमा आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, उनले स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वडा सदस्यहरू रुद्रकली विश्वकर्मा, गोमा खनाल र खगिसरा वली लगायतले शुभकामना मन्तव्य राखेको थियो।





