कोहलपुर, बाँके — नेपाल मगर संघ जिल्ला समन्वय समिति, बाँकेको आयोजनामा प्रथम मगर संस्कृति, भेषभूषा तथा खानपान महोत्सव आजदेखि सुरु भएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गरिएको यो महोत्सव कोहलपुर खुल्ला मञ्चस्थित महोत्सव स्थलमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आयोजकले चैत ३० गतेदेखि सुरु भएको कार्यक्रम आगामी बैशाख ६ गतेसम्म सञ्चालन हुने जनाएको छ। महोत्सवमा मगर समुदायको मौलिक संस्कृति, परम्परागत भेषभूषा तथा विभिन्न परिकारहरूको प्रदर्शन गरिनुका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम पनि समावेश गरिएको छ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष भूपेन्द्र पुन मगरका अनुसार महोत्सवको मुख्य उद्देश्य मगर समुदायको कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको छ। उनले महोत्सवमा स्थानीय कलाकारहरूलाई प्राथमिकता दिइने जानकारी दिँदै विभिन्न राष्ट्रिय स्तरका कलाकारहरूको पनि विशेष प्रस्तुति रहने बताए।
महोत्सव अवधिभर मगर समुदायका मौलिक भेषभूषा, विशेषगरी ‘आख पिन’ लगायतका परम्परागत पहिरनहरू प्रदर्शनीमा राखिने छन्, जसले दर्शकहरूलाई मगर संस्कृतिको नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। साथै, विभिन्न जातीय तथा स्थानीय खानाका परिकारहरू पनि आकर्षणको केन्द्र रहने अपेक्षा गरिएको छ।
महोत्सवको पहिलो दिन आज चर्चित कलाकार टंक तिमल्सिना, देवी घर्ती, राजु गुरुङ र माया गुरुङ लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। आगामी दिनहरूमा पनि अन्य चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम रहेको छ।
यस महोत्सवले कोहलपुर क्षेत्रको पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास गरिएको छ। आयोजकले सम्पूर्ण सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई महोत्सवको अवलोकन तथा मनोरञ्जन लिन अनुरोध गरेको छ।









