क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 पत्रकार महिला लेखनवृत्ति प्रतियोगिता सम्पन्न, बिमला चौधरीको स्टोरी प्रथम । 2 “मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह महत्त्व दिनुपर्छ” : डा. अरुण उप्रेती । 3 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 4 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 5 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 6 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 7 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 8 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन ।

अगाध आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् ।

नहाय–खायका दिन व्रतालुहरूले स्नान गरी शरीर र मनलाई शुद्ध पारेपछि चोखो नितो गरेर लौकाको तरकारी र भात खाने गर्छन् । लौकालाई छठमा सबैभन्दा शुद्ध तरकारीमध्ये एक मानिने भएकाले यस दिन बजारमा यसको माग अत्यधिक हुने गर्छ । छठ पर्व नसकिएसम्म व्रतालुहरूले माछामासुलगायत तामसिक भोजन गर्दैनन् ।

शुक्रबार नहाय–खाय गरेका व्रतालुहरूले शनिबार साँझ ‘रस्याउ–रोटी’ खानेछन् । ‘खरना’ भनिने यस विधिमा व्रतालुहरूले घरमा छठी माताको पूजा गरी दूध र गुडमा पकाइएको खिर ९रस्याउ० तथा पुरी खाने गर्छन् । यसलाई प्रसादका रूपमा परिवारका सदस्य, इष्टमित्र र छरछिमेकलाई समेत वितरण गर्ने परम्परा छ । कतैबाट निम्तो नपाएका वा प्रसाद खाने अवसर नजुरेकाहरूले पनि व्रतालुसँग मागेर रस्याउ–रोटी प्रसादका रूपमा खाने चलन छ ।

वीरगन्जको तेजारथ टोलकी व्रतालु मञ्जु देवीका अनुसार शनिबार साँझ खरना विधिपछि रस्याउ–रोटी ग्रहण गरेका व्रतालुहरू त्यसैको भरमा आइतबार दिनभर निर्जल र निराहार व्रत बस्नेछन् । आइतबार साँझ व्रतालु तथा परिवारका सदस्यहरू घरनजिकैका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका छठघाट पुग्नेछन् । ‘सोमबार बिहान घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा सम्पन्न गरेपछि मात्र व्रत तोडिन्छ,’ उनले भनिन् ।

नयाँ वस्त्र धारण गरेका व्रतालुका परिवारका सदस्यले बाँसको छैंटीमा पूजा सामग्री राखेर टाउकोमा बोकी घाटसम्म लैजाने परम्परा छ । विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् । आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत पूजा सामग्री राखेर अर्घ्य दिनेछन् । त्यसपछि उनीहरू घण्टौँ घाटमै बसेर पूजा–अर्चना गर्नेछन् ।

केही व्रतालु राति घर फर्केर आँगनमा ‘कोसी भर्ने’ विधि गर्छन् । माटोको हात्ती राखेर पूजा गरिने यस विधिबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । कोसी भर्ने क्रममा परिवारका सदस्य, आफन्त र छरछिमेकका मानिससमेत सहभागी हुने गर्छन् । घाटमै बस्ने व्रतालुहरूले भने रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने परम्परा छ ।

छठका लागि आवश्यक प्रसाद तयार पार्ने काम पनि व्रतालुका घरमा तीव्र बनेको छ । शनिबार दिनभर र साँझसमेत व्रतालु तथा परिवारका सदस्यहरू विशेष प्रकारको पिठोबाट ठेकुवा बनाउने तयारीमा जुट्नेछन् । प्रसाद पकाउँदा शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइन्छ ।

रस्याउ–रोटी र ठेकुवा बनाउन आवश्यक पिठो तयार पार्न व्रतालुका घरघरमा गहुँ सुकाउने काम भइरहेको छ । घाममा सुकाइरहेको गहुँलाई चराचुरुङ्गीले जुठो लगाए अपवित्र हुने धार्मिक मान्यता रहेकाले व्रतालु तथा परिवारका सदस्यहरू गहुँ रुङ्गेर बस्ने गर्छन् । चराचुरुङ्गीले जुठो हालेको आशंका भए गहुँ पखालेर पुनः सुकाउने गरिन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय