भाद्र १६, २०८३
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित १५ स्थानीय तहलाई थप ६ करोड ७५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ।
प्राधिकरणको मंगलबार बसेको बैठकले क्षतिको आधारमा उक्त रकम विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरूप पठाउने निर्णय गरेको हो।
बैठकअनुसार रसुवा जिल्लाका उत्तरगया गाउँपालिकालाई ७५ लाख, गोसाइँकुण्ड गाउँपालिकालाई १ करोड, कालिका गाउँपालिकालाई ३० लाख र आमाछोदिङ्मो गाउँपालिकालाई २० लाख रुपैयाँ पठाइनेछ।
त्यस्तै नुवाकोट जिल्लाका विदुर नगरपालिकालाई १ करोड ५० लाख, बेलकोटगढी नगरपालिकालाई ७५ लाख, किस्पाङ्ग गाउँपालिकालाई २५ लाख र तारकेश्वर गाउँपालिकालाई ५० लाख रुपैयाँ दिइने निर्णय भएको छ।
धादिङ जिल्लाका गल्छी गाउँपालिकालाई ३० लाख, सिद्धलेक गाउँपालिकालाई २० लाख, गजुरी गाउँपालिकालाई २० लाख र बेनिघाट रोराङ गाउँपालिकालाई २० लाख रुपैयाँ पठाइनेछ।
गोरखाको गण्डकी गाउँपालिकालाई २० लाख तथा तनहुँ जिल्लाका देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिकालाई जनही २० लाख रुपैयाँ पठाउने निर्णय पनि भएको छ।
यसअघि भदौ ११ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३५ औं बैठकले पनि ती स्थानीय तहलाई माथि उल्लेखित बराबरको रकम गरी कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिसकेको थियो।





