१४ भदौ,
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बाढीपहिरोका कारण ज्यान गुमाएका पहिचान नखुलेका तथा बेवारिसे शवहरूलाई डीएनए लगायत पहिचान खुल्नसक्ने आधार सुरक्षित राखेर सरकारले आफैं व्यवस्थापन गरिरहेको बताएका छन् ।
आइतबार राति फेसबुकमार्फत जारी गरेको जानकारीमा उनले हालसम्म बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको उल्लेख गरेका छन् । ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ,’ प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानुनबमोजिम प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन सुरु भइसकेको छ ।’
जमिनमुनि व्यवस्थापन गर्दा ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम गरिरहेको उनले स्पष्ट पारेका छन् । ‘पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डीएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैं व्यवस्थापन गरिरहेको छ,’ उनको भनाइ छ ।
एकता र सामूहिक प्रयासबाट नै यस संकटलाई परास्त गर्न सकिने विश्वास पनि उनले व्यक्त गरेका छन् ।





