कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका नगरवासीका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
आज बसेको नगर कार्यपालिका बैठकले बाढीमा मृत्यु भएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए।
नगरपालिकाका अनुसार हालसम्म कोहलपुरका एक जनाको बाढीमा परी मृत्यु भएको छ। कोहलपुर नगरपालिका–११ का कविराम थारुको बाढीमा परी मृत्यु भएको हो। उनको शव चितवनमा फेला परेको थियो। थारुको आजै कोहलपुर शवदाहगृहमा अन्त्येष्टि गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए।
नगरपालिकामा प्राप्त विवरणअनुसार अझै ११ जना कोहलपुरवासी बेपत्ता छन्। बेपत्ता नागरिकका आफन्तले नगरपालिकामा जानकारी गराएका छन्।
कार्यपालिका बैठकले बाढी तथा विपद्का कारण ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता कोहलपुरवासीको खोज तथा उद्धारका लागि टोली परिचालन गर्ने निर्णय गरेको छ।
वडा नं. १२ का अध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा वडा नं. २ का अध्यक्ष हरि सिंह कठायत, वडा नं. ५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष श्रीकृष्ण थारु, नगर प्रहरी तथा बेपत्ता नागरिकका परिवारका सदस्यसहितको टोली सम्बन्धित क्षेत्रमा पुगेर खोज तथा उद्धार कार्यमा समन्वय गर्नेछ।
विपद् प्रभावितको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णयसमेत गरेको छ।
त्यसैगरी, राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन जनप्रतिनिधि तथा कर्मचारीले तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख आचार्यले जानकारी दिए।





